आक्रमणको विरोधमा भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित (भिडियाेसहित)

नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।

काेराेना संक्रमित बिरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर बिरामीका आफन्तहरुले बिहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए। आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदीक्षा गैरे, बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए।

आफ्नो ज्यानको बाजी लगाएर काेराेनाका बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ।

यसअघि, विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निस्वार्थ भावले अनवरत खटिएका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मीमाथि भएको सांघातिक अपराधकाे घोर भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

निरन्तर श्रृंखलाबद्द ढंगले शक्तिको आडमा वा अन्य समूहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपुर्ण वातावरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग समेत गरेको छ।

काेराेना संक्रमित दाङका डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती ८ बजे मृत्यु भएको थियो। बिरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन्। त्यही आक्रोशमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ। प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना मृतकका छोरा र एकजना भाइ रहेको खुलेको छ।



भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण

देउवाले भने- ‘स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियाेस्’

प्रकाशित मिति: : 2021-05-28 09:51:00

प्रतिकृया दिनुहोस्