श्रीलंकामाथि दक्षिण अफ्रिकाको क्लिनस्विप

तस्बिरः एपी

श्रीलंकाविरूद्धको पाँच खेलको वान डे सिरिज दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ। शनिबार राति खराब फ्लडलाइटले प्रभावित पाँचौ तथा अन्तिम वान डे खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै घरेलु टोली अफ्रिकाले ५-० ले जित्दै सिरिज क्लिनस्विप गरेको हो।

केपटाउनमा २ सय २६ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली १ सय ३५ रन बनाउन २ विकेट गुमाउँदा खराब फ्लडलाइटका कारण खेल रोकिएको थियो।

दक्षिण अफ्रिकाका लागि एडेन मार्करामले ६७ र रस्सी भान डर डुसेन २८ रनमा अविजित रहे। क्विन्टन डी कक ६ र कप्तान फाफ डु प्लेसिस २४ रनमा आउट भएका थिए।

श्रीलंकाका लागि लाथिस मलिङ्गा र थिसेरा परेराले समान एक-एक विकेट हात पारेका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय २५ रन मात्र बनाउन सक्यो। उसका लागि कुशल मेन्डिसले सर्वाधिक ५६ रन बनाए। त्यस्तै एन्जिलो परेराले ३१, प्रियमल परेरा ३३, इसुरू उडना ३२ र ओशदा फ्रनान्डोले २२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्।

अफ्रिकाका लागि कागिसो रबाडाले ३, ईमरान ताहिरले र एनरोच नोर्टजले समान दुई दुई विकेट लिए।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा ८ विकेट, दोस्रो खेलमा १ सय १३ रन, तेस्रो खेलमा ७१ रन र चौथो खेलमा ६ विकेटले श्रीलंकालाई हराएको थियो।

प्रकाशित मिति: : 2019-03-17 09:43:16

प्रतिकृया दिनुहोस्