म्यान्चेष्टर सिटीलाई पन्छाउँदै लिभरपुल पुनः शीर्ष स्थानमा

तस्बिरः एजेन्सी

फुलह्यामलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुल पुनः शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुललाई जिताउन साडियो माने र जेम्स मिल्नरले एक एक गोल गरे। फुलहमका रायन बाबेलले एक गोल फर्काए पनि लिभरपुललाई रोक्न त्यो सम्भव भएन।

फुलहमको घरेलु मैदानमा खेलको २६औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाए। खेलको ७४औं मिनेटमा फुलहमका बाबेलले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। तर, खेलको ८१औं मिनेटमा मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३१ खेलबाट ७६ अंक जोडेको छ।लिभरपुल शीर्ष स्थानमा उक्लिएसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटी २ अंकले पछि परेको छ।

एक खेल कम खेलेको सिटी ७४ अंकसहित दोस्रो स्थानमा झरेको छ। तेस्रो स्थानको टोटनह्यामको ६१ तथा चौथो स्थानको आर्सनल ६० र पाँचौ स्थानको म्यान्यूको ५८ अंक छ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: : 2019-03-17 23:52:10

प्रतिकृया दिनुहोस्