भारतसँग ३-१ ले पराजित हुँदा नेपालको ओलम्पिक छनोट सम्भावना सकियो

तस्बिरः भारतीय फुटबल संघ

आगामी सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक २०२० को एसिया छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतसँग ३-१ ले पराजित भएको छ ।

यो पराजय सँगै लगातार दोस्रो खेलमा पराजित नेपालको छनोट सम्भावना सकिएको छ।

शनिबार म्यानमारस्थित मन्दलर थिरी रंगशालामा भारतलाई नेपालले दबाबमा राखे पनि खेलको छैठौं मिनेटमैउसले अग्रता लिएको थियो।

भारतीय टोलीले पुनम जर्घा मगरको आत्मघाती गोलमा सुरूवाती अग्रता लिएको थियो। तर,साबित्रा भण्डारीको पासमा कप्तान निरु थापाले एक मिनेट नबित्दै बराबरी गोल फर्काएपछि नेपाल खेलमा फर्किएको थियो।

पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही लय गुमायो।

खेलको ६० औं मिनेटमा संधिया रंगनाथनले गोल गर्दैभारतलाई पुन: अग्रता दिलाइन्। त्यसपछि खेलको ७९औं मिनेटमा आशालता देवीले पेनाल्टीमा गोल गर्दै भारतको जित पक्का गरिन्।

पहिलो खेलमा इन्डोनेसियालाई २-० ले पराजित गरेको भारत यस जितसँगै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

भारतसंग पराजित भएसंगै समूह 'बी' को नेपाल दोस्रो चरणको छनोटबाटै बाहिरिएको छ । नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासंग खेल्ने छन् ।

शनिबारनै भएको अर्को खेलमा म्यानमारले इन्डोनेसियालाई ६-० गोल अन्तरले पराजित गरेको छ। यो सँगै लगातार दोस्रो जित निकालेको म्यानमारले तेस्रो चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। अब म्यानमारले अन्तिम खेलमा भारतसंग खेल्ने छ। उक्त खेलले तेस्रो चरणमा पुग्ने टोलीको तय हुनेछ ।

यस समूहमा शीर्ष स्थानको म्यानमारको ६ अंक छ । दोस्रो स्थानको भारतको पनि ६ अंक छ । नेपाल र इन्डोनेसिया अंकविहीन रहेका छन् ।

नेपाल र इन्डोनेसियाको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । छनोटको शीर्ष टोलीले तेस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: : 2019-04-06 23:27:31

प्रतिकृया दिनुहोस्