रोनाल्डोले गोल गरे पनि युभेन्टस आयाक्ससँग रोकियो

तस्बिरः एजेन्सी

युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ ।

आयाक्सको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले बराबरी खेल्नु परेको हो ।

च्याम्पियन्स लिग अन्तरगत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार राति युभेन्टस घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

खेलको ४५ औं मिनेटमा रोनाल्डोले डाइभिङ हेड गोल गर्दै पहिलो हाफमा टोलीलाई १-० को अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको सुरूवाती मिनेटमै आयाक्सले बराबरी गोल फर्काएको थियो।

खेलको ४६ औं मिनेटमा डेभिड नेरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

घरेलु टोलीले युभेन्टसलाई खेलभर दवावमा राखे पनि थप गोल गर्न सकेन। आयाक्सका आधादर्जन प्रहार खेर गएको थियो ।

बराबरीसँग दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै छ।

अब दुईबीचको दोस्रो लेग खेल युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति: : 2019-04-11 07:41:00

प्रतिकृया दिनुहोस्