धोनीको चेन्नईलाई हराउँदै रोहितको मुम्बई आईपीएल फाइनलमा

तस्बिरः एजेन्सी

मुम्बई इन्डियन्स भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो ।

चेन्नईले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य मुम्बईले ९ बल बाँकि छँदै मात्र ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

मुम्बईको सहज जितमा सूर्य कुमार यादवले अर्धसतकीय इनिङ्स खेले। ५४ बल खेलेका उनले १० चौकासहित ७१ रनमा अविजित रहे।

यस्तै इशान किसानले २८ रन बनाउँदा कप्तान रोहित शर्मा ४ तथा क्विन्टन डेकक ८ रन बनाएर आउट भए। क्रुनाल पाण्ड्या डक आउट हुँदा हार्दिक पाण्ड्याले १३ रनको नटआउट पारी खेले।

मुम्बईले पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई ४ रनमा गुमाएको थियो। रोहितलाई दिपक चाहरले एलवी डब्लू आउट गरे। चौथो ओभरको दोस्रो बलमा क्विन्टन डी ककलाई ८ रनमा क्याच गराउँदै दवावमा राख्न खोजेका थिए। तर, तेस्रो विकेटका लागि सूर्य कुमार यादव र इशान किशनले ८० रनको उत्कृष्ट साझेदारी गरेपछि मुम्बईको जित पक्का बनेको थियो ।

चेन्नईका लागि इमरान ताहिरले २, दिपक चाहर र हरभजन सिंहले समान १-१ विकेट लिए पनि हार जोगाउन सकेनन्।

यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनाएको थियो। चेन्नईका लागि आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाएका थिए। उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। कप्तान महेन्द्र सिंह धोनी तल्लो क्रममा ३७ रनमा अविजित रहँदा चेन्नईले मध्यम योगफल तयार पारेको थियो।२९ बल खेलेका धोनीले ३ छक्का प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराए पनि नो बल भएपछि जीवन दान पाएका थिए।

खराब सुरूवात गरेको चेन्नईले तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाइ ६ रनमा क्याच आउट गराए। चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे। छैठौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो।

१३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे। विजयले २६ बलमा ३ चौका प्रहार गरे ।

पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो।

मुम्बईका राहुल चाहारले २,जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए ।

अब बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच एलिमिनेटर खेल हुनेछ। त्यसको विजेताले चेन्नईसँग दोस्रो क्वालिफायर खेल्ने छ। उक्त क्वालिफायर खेलको विजेताले उपाधिको लागि मुम्बई इन्डियन्ससँग आइतबार भिड्ने छ।

प्रकाशित मिति: : 2019-05-08 00:08:44

प्रतिकृया दिनुहोस्