पाकिस्तानलाई धक्का, इमाम उल हक घाइते

Reuters

विश्व कप अगाडि पाकिस्तानी समर्थकका लागि खराब समाचार बाहिरिएको छ। इंग्ल्यान्डविरूद्ध शुक्रबार सम्पन्न चौथो एकदिवसीय खेलमा पाकिस्तानका युवा प्रारम्भिक ब्याट्सम्यान इमाम उल हक घाइते भएका छन्।

उनलाई कुहिनोमा चोट लागेको विदेशी सञ्चारमाध्यमले बताएका छन्। उनको अवस्था बुझ्न घुँडाको एक्सरे भएको तर रिपोर्ट सार्वजनिक नगरिएको बताइएको छ। ८९ प्रतिघण्टाको तीब्र गतिमा बलिङ गर्ने मार्क उडको बलिङमा इमामको कुहिनोमा चोट लागेको थियो।

उनी दुखाईका कारण जमीनमा ढल्न पुगेका थिए। यसपछि उनलाई अस्पताल पु¥याएको थियो। यतिबेला इमाम ३ रन बनाएर खेलिरहेका थिए।

विश्व कप सुरु हुन दुई साता मात्र बाँकी छ। इमाम हाल उत्कृष्ट लयमा छन्। उनले अघिल्लो एकदिवसीयमा भारतका पूर्व कप्तान कपिल देवको ३६ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए।

तेस्रो एकदिवसीयमा १ सय ५१ रन बनाएका इमाम १ सय ५० भन्दा बढी रन बनाउने युवा खेलाडी बन्न पुगेका छन्। यो कीर्तिमान पहिले कपिल देवको नाममा थियो। कपिलले सन् १९८३ को विश्व कपमा जिम्बाबेविरूद्ध १ सय ७५ रन बनाउँदा उनी २४ वर्ष थिए।

इमामले १ सय ३१ बलमा १६ चौका र एक छक्काको सहयोगले १ सय ५१ रन बनाउँदा उनी २३ वर्षका मात्र थिए।

प्रकाशित मिति: : 2019-05-18 19:17:43

प्रतिकृया दिनुहोस्