अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी-ट्वान्टी खेलाडीको वरियतामा नेपालका ४ जना खेलाडी अटाएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडी परेका हुन्। नयाँ वरियतामा पूर्व कप्तान पारस खड्का, बलरहरू सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।
वरियताको अलराउण्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन्। उनले ८ स्थान फड्को मारेका हुन्।
अलराउण्डरमा अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेललाई पछि पार्दै पारस २५औं स्थानमा आइपुगेका हुन्।
यस्तै अलराउण्डरतर्फ करणको वरियतामा समेत सुधार भएको छ । यसअघि ८४ औं स्थानमा रहेका उनी नयाँ वरियतामा ७४ औं स्थानमा रहन सफल छन् ।
यता सोमपालको अलराउण्ड वरियतामा ७ स्थान तल झरेको छ । यसअघि ६० औं स्थानमा रहेका उनी अहिले ६७ औं स्थानमा छन् ।
यस्तै पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । ब्याटिङतर्फ ६० औं स्थानमा रहेका छन् । उनको ब्याटिङ वरियतामा ५ स्थान तल खस्किएको हो । यसअघि उनी ५५ औं स्थानमा थिए ।
बलिङको वरियतामा सन्दीप मात्र अटाएका छन् । ३९० अंक पाएका सन्दीप ६ स्थान तल झर्दै ८४ औं स्थानमा छन् । यस्तै यसअघिको बलिङ वरियतामा ९५ औं स्थानमा रहेका सोमपालले यस पटक सय भित्र स्थान बनाउन सकेनन्।