मुरलीधरको बलिउड साइनो, किन छोडे उनले फिल्म खेल्न?

तस्बिरः बिएल

सन् १९८७ मा शेखर कपुरको निर्देशनमा ‘साइन्स फिक्सन’ मा आधारित फिल्म ‘मिस्टर इन्डिया’ बन्ने लगभग निश्चित भयो। फिल्मको कथा लेखिरहेका थिए, बलिउडका चर्चित जोडी सलिम (खान) र जावेद (अख्तर) ले।

फिल्ममा अभिनय गर्ने पात्रको विषयलाई लिएर ठूलो बहस चल्यो। फिल्मका निर्माता थिए बोनी कपुर। बोनीका भाई अनिल कपुर। त्यसैले कथा लेखनकै क्रममा तय भयो, फिल्मको मुख्य रोल अनिल कपुरलाई दिने।

हिरोइनको रुपमा श्रीदेवी र भिलेनमा अमरीश पुरीको नाम पनि सदर भयो। सलिम–जावेदले फिल्मको पटकथा तयार पार्दा एउटा यस्तो पात्रको पनि परिकल्पना गरेका थिए, जसको भूमिका अमरीश पुरीको ‘मोक्याम्बो खुस हुँवा’ भन्दा कुनै दृष्टिकोणले कमजोर थिएन।

पात्र थियो, चिनियाँ वैज्ञानिकको। यो भूमिकाका लागि शेखर कपुरले चयन गरेका थिए, नेपाली कलाकार मुरलीधरलाई।

मुरलीधर सन् १९७८ देखि नै मुम्बईमा संघर्षरत थिए। तर, सन् १९८० मा भारतका चर्चित लेखक ख्वाजा अहमद अब्बासको ‘नक्सलाइट’ बाट सुरु भएको उनको फिल्मी करिअर त्यसै वर्ष बिएस थापाको निर्देशनमा बनेको ‘गंगाधाम’, १९८४ मा बनेको मिथुन चक्रवर्तीको हिट फिल्म ‘कसम पैदा कर्ने वालो कि’, हुँदै राजबब्बर अभिनित ‘हम दो हमारे दो’ र सन् १९८५ मा नेपालमा सुटिङ भएको सत्रुघन सिन्हा र शशी कपुर अभिनित ‘भवानी जङ्सन’ बाट उचाई छुदै थियो।

शेखर कपुरले भिलेनको मुख्य भूमिका नभएपनि चिनियाँ वैज्ञानिकको भूमिका लामो र असरदार भएको भन्दै उनलाई फकाएका थिए। वास्तवमा चलचित्र निमार्णका क्रममा पनि मुरलीधरलाई लागेको थियो, मिस्टर इन्डियामा उनलाई दिइएको भूमिका पछि उनी रातारात मुम्बईको फिल्मी नगरीमा स्थापित कलाकारको रूपमा पहिचान बनाउन सफल हुनेछन्।

फिल्मको कहानी अनुसार मान्छे अदृश्य हुने घडीको ‘फर्मुला’ कि अनिल कपुरको बुवाको भूमिकामा रहेका प्रोफेसर बर्मालाई थाहा हुन्छ, कि मुरलीधरलाई प्रस्ताव गरिएको चिनियाँ वैज्ञानिकलाई।

र, अन्तिमको दृश्यमा अनिल कपुरले अदृश्य हुने घडी लगाएपछि चिनियाँ वैज्ञानिक मुरलीधरलाई उल्टो लटकाएर तेजाबले बनाएको कुण्डमा झार्ने।

फिल्मको सबै दृश्य खिचिसकेपछि १८ हजार ‘एडिटेड’ दृश्यलाई एकै ठाउँमा राखेर हेर्ने क्रममा लेखक जावेद अख्तरलाई लागेछ, फिल्म त उत्कृष्ट बन्यो। तर, अमरीश पुरीको ‘मोक्याम्बो’ भूमिकाको लेखनीमा केही मिलेन कि!

उनले फिल्मको सबै दृश्य हेरिसकेपछि भनेछन्– ‘सबै उत्कृष्ट भयो। तर, मोक्याम्बोको भूमिकालाई न्याय भएन।’

यसपछि ‘मोक्याम्बो’ को भूमिकालाई न्याय दिन ३५ दिन थप सुटिङ गरियो। र, मुरलीधरको सबै भूमिका काटेर अमरीश पुरीको भूमिका थप गरियो। यसैक्रममा फिल्मको अन्त्यमा अमरीश पुरीलाई नै वैज्ञानिकको रूपमा ‘प्रोजेक्ट’ गरियो। र, उनलाई मारेपछि फिल्म समाप्त भयो।

यसै चक्करमा चिनियाँ वैज्ञानिकको भूमिकालाई एउटा दृश्यमा मात्र सिमित पारियो। फिल्म प्रदर्शनपछि मुरलीधर यति निरास बने, उनले हिन्दी फिल्म नै नखेल्ने अठोट गरे।

चर्चित गायक तथा संगीतकार मुरलीधर भन्छन्– ‘वास्तवमा मैले हिन्दी फिल्म नखेल्नुको कारण यही हो।’

उनले यसपछि अमिताभ बच्चनको अनुरोध टार्न नसक्दा ९० को दशकमा बनेको राष्ट्रिय पुरस्कारबाट सम्मानित फिल्म ‘मै आजाद हूँ’ मा एउटा सानो भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी हिन्दी फिल्ममा देखिएका छैनन्।

उनलाई फिल्म खेल्न बलिउडमा थुप्रै कलाकारदेखि निर्देशकसम्मले आग्रह गरिरहेका हुन्छन्। तर, उनले फिल्म खेल्न अस्विकार गर्दै आइरहेका छन्। ‘प्रस्ताव आउछ, ठूलो भूमिका भनेर तर फिल्म रिलिज हुँदा आफ्नो भूमिका काटेर सानो सिनमा खुम्च्याउने काम हुन्छ। त्यसैले मलाई हिन्दी फिल्म खेल्न मन लाग्दैन,’ ९० को दशकमा ‘उडायो सपना सबै हुरीले’ गाएर चर्चित बनेका ६७ वर्षीय यी कलाकार भन्छन्।

मुरलीधरको मूल घर सिरहाको औरही गाविसमा पर्छ। उनी नेपालका संगीतालंकार नथुनी मिजारका छोरा हुन्। मुरलीधरले युवा अवस्थामै भारतका चर्चित संगीतकार ‘पद्म भूषण’बाट सम्मानित पण्डित जसराजबाट शास्त्रीय संगीत सिकेका थिए।

उनले ७० को दशकमा काठमाडौंमा केही नाटक गरेका थिए। काठमाडौंमा बस्दा उनी असनको मख्खन गल्लीदेखि पाटनको कृष्ण मन्दिरसम्म पुगेर भजन गाउँथे। काठमाडौंमा आफ्नो करिअर अगाडि बढ्ने नदेखेपछि उनी सन् १९७८ मा भारत भाँसिएका हुन। त्यहाँ उनले आफ्नो स्थान बनाउन थुप्रै संघर्ष गर्नु पर्यो। अहिले उनी गीत गाउने मात्र गर्दैनन्, मैथली फिल्म पनि निमार्ण गर्छन्।

भारतमा सफल भएपछि नेपालीहरूले आफ्नो परिचय बदल्नु सामान्य भइसकेको छ। तर, मुरलीधर अहिले पनि मुम्बईमा नेपाली बनेरै बसेका छन्। भन्छन्– ‘आफूलाई नेपालीभन्दा लजाउनु पर्ने इतिहास हाम्रो छैन्। बरु पूर्खाले छाती फुलाउने काम नै गरेर गएका छन्।’ उनी हरेक वर्ष दशैमा मुम्बईमा बसोबास गर्ने नेपालीलाई जम्मा पारेर टिका थाप्ने गर्छन्।

प्रकाशित मिति: : 2019-04-20 10:09:58

प्रतिकृया दिनुहोस्