इज्जतकै लागि छोरीको घरमा दर पठाउने परम्परा

शोभा कार्की

अधिवक्ता

गएको माघमा भव्य समारोहबीच आफ्नी इन्जिनियर छोरीको शिक्षित परिवारका डाक्टर केटासँग विवाह गराएका काठमाडौं बानेश्वरका थापा दम्पत्तिका लागि तीजसँगै छोरीको घर पठाउने दरका साम्रागीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ।

छोरी र ज्वाई दुवै अष्ट्रेलिया बस्छन् । तर पनि समाज र छोरीको घर परिवारको इज्जतकै लागि भए पनि विवाहको पहिलो वर्ष भएकाले छोरीको घरमा दर पुर्‍याउनै पर्ने प्रचलनले दर पठाउने तयारीमा जुटेका छन्।

यसरी छोरीको घरमा दर पुर्‍याउदा दरमा बुढी सासु, सासु, नन्द आमाजु, जेठानी देउरानीलगायतका महिला सदस्यको लागि सुन, चाँदीका पूजा भाडाहरू, लुगा, सौभाग्यका सामान, मिठाई, फलफूललगायतका सम्पूर्ण सामाग्री तीजको दरमा पुर्‍याउने तयारीमा छन् उनीहरू।

यस्तै दरको चटारो मुलपानीको पुडासैनी परिवारलाई पनि परेको छ, असारमा मात्रै विहे गरेकी छोरीको घरमा पठाउनुपर्ने दरका साम्रागीमा सासुलाई सुनको सिक्री तथा जेठानीलाई सुनको तिलहरी र चाँदीका सम्पूर्ण पूजाका भाडा किन्नुपर्ने भएको छ। तर, यही बेला सुन/ चाँदीको मूल्य आकाशिएकोले यसपालीको तिज उनीहरुलाई महंगो पर्ने भएको छ ।

नेपाली महिलाले उल्लासका साथ मनाउँदै आएको तीज पर्वको  एउटा महत्वपूर्ण पाटो हो- दर खाने तथा खुवाउने चलन ।

भाद्र शुक्ल तृतीयाका दिन महिलाले उल्लासपूर्वक मनाउने र निर्जल उपवास बस्ने तीज (हरितालिका) व्रतको दिनका लागि आडिलो भएर ब्रत बस्न सकियोस् भन्ने उद्देश्यले अघिल्लो रात दर खाने प्रचलन पहिलादेखि नै समाजमा चलिआएको थियो।

हाल तीजको व्रतको अघिल्लो दिन खाइने दर प्रथाको स्वरूप परिर्वतन हुँदै गएर महिनौ दिन दर खाने चलन चलेको छ।

त्योसँगै विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने, दर पठाउने क्रममा, माइतिबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजु, समेतलाई गरगहना, लुगाफाटो, श्रृंगारका सामाग्री, खानाका साम्रागी पठाउनुपर्ने प्रचलनको थालनी भएको छ।

यसले एकातिर छोरीको माइतीलाई आर्थिक भार पर्न जान्छ भने अर्कोतर्फ छोरीको घरमा यदि धेरै बुहारी छन् भने जुन बुहारीको माइतीबाट दरमा गरगहना, लत्ताकपडा र सामान बढी आउँछ त्यो बुहारीलाई परिवारमा अन्य बुहारीको तुलनामा बढी सम्मान इज्जत दिने गरिन्छ । दर कम ल्याउने बुहारीलाई अनावश्यक रूपमा होच्याउने, हेप्ने प्रवृत्ति बढेको पाइन्छ।

यसले बुहारी-बुहारी बीच माइतिको धाक लगाउने र एक आपसमा अनावश्यक प्रर्तिस्पर्धा हुन्छ ।

तीजमा छोरीको घरमा दर पठाउनुपर्ने संस्कार हाम्रा कुनै पनि शास्त्रमा उल्लेख भएको पाइँदैन ।

यद्यपि हाम्रो सामाजिक व्यवहारलाई सुधार गर्न बनेको ऐन सामाजिक व्यवहार सुधार ऐन, २०३३ अन्तर्गत बनेको सामाजिक व्यवहार नियमावली, २०३३ को नियम १२ मा तीजमा दर पठाउनेसम्बन्धी व्यवस्था गरको छ, जसमा ‘तीज पर्वमा दर पठाउँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार मिठाई र फलफूलजस्ता चिजबिजहरु सबै गरी बढीमा दुई किस्ती बाहेकका अन्य साम्रगी पठाउनु हुँदैन,’ भन्ने कानूनी व्यवस्था समेतलाई हेर्दा तीजमा छोरीको घरमा दर लैजाने परम्परा पहिलादेखि नै चलिआएको पाइन्छ ।

हुन त, हाम्रो सामाजिक व्यवहारलाई सुधार गर्ने ऐन कानून हाल निस्क्रिय छ । तर, २०३३ सालमा बनेको यो ऐनमा दर लाने चलनको समेत नियम हुनुले दरको चलन प्राचीन समयदेखि नै हाम्रो समाजमा रहिआएको पृष्टी हुन्छ । फरक यति हो, हाल यसको स्वरुप परिर्वतन हुँदै तीजको दरमा सुनका गरगहना, चाँदीका भाडाकुँडा, परिवारका सम्पूर्ण सदस्यलाई लुगाफाटासमेत लैजानुपर्ने चलन सुरू भएको छ ।

तीज पर्वमा दर पठाउँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार मिठाई र फलफूलजस्ता चिजबिजहरु सबै गरी बढीमा दुई किस्ती बाहेकका अन्य साम्रगी पठाउनु हुँदैन ।
-सामाजिक व्यवहार नियमावली, २०३३ को नियम १२ ।

यसले गर्दा छोरीको घरमा पठाइने दर निक्कै खर्चिलो र भड्किलो हुदै गएको पाइन्छ। यस प्रकारको सामाजिक व्यवहारको वृद्धिले सामान्य आर्थिक अवस्था भएका व्यक्ति तथा परिवारलाई समेत असर पर्ने हुनाले यस प्रकारका प्रचलनलाई विस्तारै समाजबाट न्युनीकरण गर्दै लैजान हामी आफैंबाट शुरु गर्नुपर्ने देखिन्छ।

वास्तवमा तीज पर्वको सबैभन्दा सवल पक्ष भनेको विवाह गरेर गएकी चेलीलाई वर्षको तीन दिन भए पनि माया र स्नेहका साथ माइतीमा बोलाएर व्रतको एक दिन अगाडि विभिन्न प्रकारका परिकारको दर खुवाएर परिवारका सदस्यसँग भेटघाटको अवसर दिनु, धेरै दिदी-बहिनी भएका परिवारमा एकैचोटि सम्पूर्ण दिदी-बहिनीको जमघट भै सँगै बसेर खानु, रमाइलो गर्नु, अनि विवाहपश्चात वर्ष दिनसम्म भेटघाट हुन नपाएका साथी, संगीको माइती आएको मौकामा भेटघाट, मनोरञ्जन, सुख-दुःखका कुरा आदानप्रदान गर्ने मौकासमेत यस पर्वले दिएको छ ।

तसर्थ अबका दिनमा आत्मनिर्भर छोरी तथा शिक्षित ज्वाई र परिवारले नै माइती तथा ससुरालीबाट अनावश्यक रुपमा आर्थिक भार पर्ने गरी दर ल्याउने प्रचलनलाई विस्तारै न्युनीकरण गर्दै लैजाने हो कि?

(लेखक, अधिवक्ता हुन्)

प्रकाशित मिति: : 2020-08-20 19:39:00

प्रतिकृया दिनुहोस्