डोल्पा स्वास्थ्य सेवामा सुधार

रासस

जाजरकोट
तस्बिर : एजेन्सी

समस्याबाट ग्रासित भएको डोल्पा स्वास्थ्य सेवा कार्यालयले सेवा सुधारेसँगै विश्वास आर्जन गर्न थालेको छ। पन्ध्र शै्याको सो कार्यालयले अहिले जिल्लामै सामान्य खालका अप्रेशन, डिजिटल एक्सरे सेवा (सिआर), सबै खालका रगत जाँच गर्दै आएको छ।

त्यस्तै बिरामीको सेवा प्रवाह सहज बनाउन कार्यालयले सुविधा थप गरेको छ। स्वास्थ्य सेवा कार्यालयले विगतमा भर्ना भएका बिरामीलाई साधारण खाना दिँदै आएकोमा अब सेवा थप गरेर खाना, नास्ता र बिहान बेलुका चियाको व्यवस्था गरेपछि  बिरामीलाई खानाको समस्या टरेको छ।

अस्पताल भर्ना भएका बिरामीलाई बिहान र बेलुका चिया, १० बजे खानासँग अण्डा, दिउँसो रोटी तरकारी हप्तामा दुई पटक मासु र बिरामीको अवस्थाअनुसार मानवोचित सेवा उपलब्ध गराउने निर्णय गरेको डाक्टर पसजन रावलले जानकारी दिए।

टाढाबाट बिरामी लिएर स्वास्थ्य सेवा कार्यालय आएका आफन्तहरु बिरामीको खाना, नास्ता खरिद गर्ने रकम नहुँदा हैरानी व्यहोर्दै आएका थिए। सेवा कार्यालयले सेवा विस्तार गरी जनपक्षीय कार्य अगाडि बढाएपछि स्थानीयवासी खुशी भएका छन्।

अस्पतालका बिरामीले उपचार गराउँदा जाडोको सकस नपरोस् भनेर देउसीभैलो खेलेर जम्मा भएको रकमले १७ वटा फाइबर सिरक, चार वटा हिटर, चामल उपलब्ध गराइएको रावलले जानकारी दिए।

सेवा प्रवाह सुधार भएसँगै अहिले बिरामी खुशी भएका छन्। प्रदेश सरकारको मातहत मा रहेको डोल्पा स्वास्थ्य कार्यालय अहिले सबैको भरोसाको केन्द्र भएको छ।

सामान्य खालको उपचार नहुँने यहाँ अहिले सामान्य खालका शल्यक्रियासमेत हुँदै गएकोले डोल्पाली खुशी भएका छन्। सेवा कार्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम शुरु हुन लागेको छ।

रु दुई करोड रकम कर्णाली प्रदेश सरकारले पठाएर डिपिआरको काम शुरु गर्न लागेको हो। डिपिआरको काम ढिला हुँदा केही समस्या आएको सेवा कार्यालयले जनाएको छ।

नयाँ भवन निर्माणका लागि रु २७ करोड विनियोजन भएको छ। प्रतिवेदन आउन साथ निर्माणको काम हुनेछ। प्रदेश सरकारले डिपिआरको लागि कर्मचारी खटाइसकेको तर कुन मापदण्डका आधारमा गर्ने भन्ने छलफल भइरहेको कार्यालयले जनाएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाह गरेन 

डोल्पामा एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाह गरेको छैन। सम्झौता गरेर पनि डोल्पामा सेवा नदिएको कार्यालयले जनाएको छ। ठाउँ औगट्ने तर सेवा प्रवाह नगर्ने कार्यले गर्दा समस्या निम्तिएको डाक्टर सिजन रावलले जानकारी दिए।

अहिले करारमा कार्यरत  दुई चिकित्सक, दरबन्दीको चारमध्ये एक जना कार्यरत रहेको पाइएको छ। मरामर्शदाताको तीन वटा दरबन्दी खाली छ। खाली दरबन्दी पूर्तिका लागि पहल भइरहेको बताइएको छ।

अहिले स्थानीय चिकित्सकले सेवा दिँदै आएका आएका छन्। अहिले लामो समयदेखि स्वास्थ्य बीमा गरेका बिरामीले औषधि नभएको बताएका छन्।

औषधि खरिद नहुँदा बिरामीले औषधि नपाएका हुन्। स्वास्थ्यकर्मी सबैको दरबन्दी पूर्ति भएमा सेवा प्रवाह अझै प्रभावकारी हुने डा रावलले जानकारी दिए। 

 

 

प्रकाशित मिति: : 2019-12-29 01:43:48

प्रतिकृया दिनुहोस्