शारीरिक अपाङ्गहरूले मूर्तिमा देखिरहेछन् सुनौलो भविष्य

जीवन बनिया

काठमाडौं
तस्बिरः बिएल नेपाली सेवा

कीर्तिपुरस्थित बिआइए फाउन्डेसनमा शारीरिक रूपले अपाङ्ग भएकाले थाङ्का, तामाको मूर्ति, पूजाका सामग्री, काठको मूर्ति बनाउने काम सिकिरहेका छन्।

सन् २०१४ अगष्ट २७ मा शारीरिक रूपले अपाङ्गता भएकालाई आत्मनिर्भर गराउनका बिआइएको स्थापना गरिएको डाइमन शर्माले जानकारी दिए। उनी विगत पाँच वर्षदेखि होस्टेलको व्यवस्थापन हेरिरहेका छन्।

फाउन्डेसनको मुख्य कार्यालय काठमाडौंस्थित जोरपाटीमा छ भने शाखा कीर्तिपुरको नगाउँमा छ। हाल एक सय तीस जना शारीरिक अपाङ्गहरुले थाङ्का, तामाको मूर्ति, काठको मूर्ति र पूजाको सामग्री बनाउने तालिम लिइरको शर्माले बताए। 

शर्माले भने, 'कीर्तिपुर शाखामा २५ जनाको कोटा छ। जोरपाटीमा सय भन्दा बढी अपाङ्गहरुले एकैसाथ तालिम लिन सक्छन्।' कीर्तिपुरको उक्त शाखामा स्प्यानल, पोलियोबाट प्रभावित शारीरिक अपाङ्गता भएकाहरू छन्। १२ जना महिला र अन्य पुरुषहरु रहेको होस्टेल इन्चार्ज् नविन राओनले बताए। 'बिआइए फाउन्डेसन अपाङ्गमैत्री छ। यहाँ सजिलै शारीरिक रूपले अपाङ्ग भएका व्यक्तिहरु ओहोरदोहोर गर्न सक्छन्,' राओनले भने।

चार वटा रूमहरू भएको फाउन्डेसनको तल्लो फल्याटमा पुरूषहरू बस्ने र माथिल्लोमा महिलाहरू बस्ने गर्छन्। हाल महिला पुरूष गरि २५ जना छन्। मूर्ति बनाउने तालिम लिनका लागि शारीरिक अपाङ्गहरू बाहिरबाट आउने गर्छन्। बाहिरबाट तालिम लिन आउनेलाई आवश्कता अनुसार गाडी खर्च दिने गरेको उनले बताए।

त्यहाँ बसेर तालिम गरिरहने शारीरिक अपाङ्गता भएकालाई काम गर्न गाह्रो भएको खण्डमा आफूहरूले पनि सहयोग गरिरहेको उनको भनाइ छ। मूर्ति बनाउने तालिमको कोर्स छ। जो सकाउन पाँच वर्ष लाग्छ। तालिम पश्चात् विद्यार्थीहरुलाई काम दिने र दिलाउने गरिएको उनले थपे।

राओन र शर्मासँग कुराकानी पछि थाङ्कामा पेन्टिङ् गर्ने कोठा तिर लागे। त्यहाँ सिन्धुलीका जय कार्की ह्वीलचियरमा बसेर दस जना महिलाहरुलाई थाङ्कामा पेन्डिङ गर्न सिकाउँदै थिए। हेड अफिस जोरपाटीबाट टिचिङ्का लागि शाखामा आएका उनी चित्र बनाउने, पेन्टिङ् गर्ने काम साथिहरुलाई सिकाउन पाउँदा आफूलाई खुसी लागेको उनले बताए। उनी सोह्र वर्षको उमेरमा दशैंमा चङ्गा उडाउने क्रममा घरको तीन तल्लाबाट लडेका थिए।

पोखराको लेखनाथमा घर भएकी संगीता विक पेन्टिङ् गर्नमा व्यस्त थिइन्। मेरो हात उनको ह्वीलचियर अगाडि भएको टेबुलमा गयो। त्यहाँ  सिसाकलम, पानी, विभिन्न कलर राखिएका ससाना बट्टाहरु थिए। राति सुत्दा अचानक स्पाइनल भएकी विक थाङ्कामा पेन्टिङ् गर्न पाउँदा खुसी देखिएकी थिइन्। उनी मेरो प्रश्नले एकाएक मलिन भइन्। उनी भन्छिन्, 'यहाँ त ह्वीलचियर जहाँ पनि जान्छ। तर बाहिर मन लागेको ठाउँमा ह्वीलचियर जाँदैन। मन लागेको ठाउँमा पुग्न सकिदैन नरमाइलो लाग्छ।'

स्कुल जाँदा भीरबाट लडेर स्पाइनल भएकी दैलेखकी मञ्जु रेग्मी थाङ्कामा कलर सेटिङ् गर्नमा व्यस्त थिइन्। 'थाङ्का सिक्दा सुरुमा समस्या हुन्छ। तर जानिसकेपछि समस्या हुँदैन' उनले आफ्नो कामको अनुभव यसरी सुनाइन्। उनी काठमाडौं आएको चार महिना भइसकेको रहेछ। थाङ्का सिकिसकेपछि काठमाडौंमा काम गर्ने योजना रहेको उनले बताइन्।

६ वर्षसम्म काठको मूर्ति बनाउने तालिम गरिसकेका भक्तपुरका राजेश शिल्पकार हाल आफू जस्तै शारीरिक अपाङ्गहरुलाई काठको मूर्ति बनाउन सिकाउँछन्। पाँच वर्ष अगाडि भक्तपुरमा गाडि दुर्घटनामा परेर दुइटै खुट्टा गुमाएका उनी साथीहरुलाई सिकाउँदा रमाइलो लाग्ने बताउँछन्।

धनुषाका अजयकुमार यादव तामाको मूर्ति बनाउने तालिम लिरहेका छन्। आठ वर्षअघि जयपुर जनकपुर हुँदै घर फर्किने क्रममा रेलबाट ओर्लिदा दुर्घटनामा परेका थिए। उनी त्यहाँको स्थानीय संस्थाको सहयोगमा कीर्तिपुर आएका हुन्।

कीर्तिपुर शाखाको कुराकानी पछि म हेड अफिस जोरपाटी गए। त्यहाँ फाउन्डेसनका सचिव ङवाङ्क्षिरी शेर्पासँग भेट भयो। सोलुखुम्बुमा घर भएका उनी बीस वर्षको उमेरमा घाँस काट्दै गर्दा रुखबाट लडेर स्पाइनलबाट अपाङ्ग हुन पुगेका थिए। उनी भन्छन्, 'यो संस्थामा सात जनाको कमिटी रहेको छ। सुरुमा हामीले दुई जना स्पाइनलबाट प्रभावित अपांग साथिलाई पेन्टिङ गर्न सिकाएका थियौं,' उनले भने, 'अहिले हामीसँग एक सय तीस जना अपाङ्ग साथिहरु हुनुहुन्छ।'

बिआइए फाउन्डेसले हालसम्म १२ वटा प्रोजेक्टमा काम गरिसकेको छ। 'नेपालमा अपाङ्गता भएका व्यक्तिलाई अधिकांश संस्थाले तालिम दिएर सर्टिफिकेट मात्र दिन्छन्। हातमा सीप भएर पनि केही गर्न सक्दैनन्। त्यसैले हामीले फाउन्डेसन खोलेको हौं। अपाङ्ग साथिहरूलाई शिक्षक बनाउने हाम्रो लक्ष्य छ। काम सिकिसकेपछि चाहना भएमा साथीहरू यहीँ बस्न सक्नुहुन्छ र आफूले व्यवसाय पनि गर्न सक्नुहुन्छ,' शेर्पा थप्छन्, 'हामी कहाँ अहिले कोटा छैन। त्यसैले अपाङ्गहरुलाई फाउन्डेसनमा राख्न सकिरहेका छैनौं र पनि बाहिरबाट आउन सक्ने साथिलाई पनि तालिम दिरहेका छौं। त्यति मात्र नभएर तालिम सिक्न आउने हरुलाई यातायात खर्च भनेर दैनिक पचास रुपियाँ दिने गरेका छौं।'

भविष्यमा फाउन्डेसनलाई अपाङ्गहरुको गाउँ बनाउने तयारी भैरहेको उनले बताए। फाउन्डेसनलाई अपाङ्गहरुको गाउँ बनाउनका लागि फर्पिङ्गमा सर्वे भइरहेको जानकारी पनि दिए। यी  केही शारीरिक अपाङ्ग साथीलाई निकै राम्रो अवसर मिलाएको छ। जो आत्मनिर्भर बनिरहेका छन्। तर, विकट क्षेत्रमा अझै पनि अपाङ्गहरु नारकीय जीवन बिताउन बाद्य छन्। त्यतातिर ध्यान पुर्‍याउन सके कस्ताो राम्राो होला है! हेलो सरकार! सोच्ने कि!

यो पनि हेर्नुहोस्,

रोकिएको जीन्दगीलाई चल्न सिकाउनेहरू (भिडियो)

प्रकाशित मिति: : 2019-12-31 20:24:56

प्रतिकृया दिनुहोस्