प्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराएका गुण्डानाइकेलाई १० वर्ष कैद

दीप सुवेदी

काठमाडाै‌ं

जिल्ला अदालत काठमाडौंले गुण्डानाइके चर्चित डन रमेश बाहुन उर्फ सुजन पौडेललाई १० वर्ष कैद र ७५ हजार जरिवाना सुनाएको छ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आइतबार उनलाई यस्तो सजाय सुनाएको हो।

२०७१ सालदेखि थुनामा रहेका उनलाई न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

उनलाई २०७१ साउनमा काठमाडौंबाट पक्राउ गर्दा प्रहरीले उनको साथमा खैरो हिरोइन फेला पारेको थियो।

को हुन् बाहुन ?

नेपाली सेनाको रेन्जरगणका सिपाही रहेकै बेला अपराधिक गतिबिधिमा लागेपछि उनी संकटकालका बेला सेनाको जागिर छाडेर डन बनेका हुन्।

रामेछापको दुरागाउँ गाविस वडा नम्बर ७ का स्थायी बासिन्दा बाहुन डन बास्तविक बाहुन भने होइनन्। उनी पौडेल क्षेत्री हुन्। तर, अपराधको दुनियाँमा उनी बाहुन डनका नामले चर्चित छन्।

११ वर्षअघि प्रहरीको खोजीकै सूचीमा रहेका बेला उनी रामेछापको मन्थलीमा तत्कालिन एमालेको आमसभाबाटै प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका थिए। प्रधानमन्त्री ओलीले उनीजस्ता युवाहरुको संरक्षण गर्ने बताएका थिए। यद्यपि  प्रधानमन्त्री ओलीले टीको लगाएर एमालेमा भित्र्याए पनि बाहुन डनलाई प्रहरीले ‘क्लिन चिट’ दिइएन।

प्रहरीले लामो समयदेखि कुख्यात अपराधीका रुपमा खोजी गरिरहे पनि नेपालभित्र लुकिछिपी फिरौती उठाउने तथा टेण्डर कब्जा गरी कमिसन लिने गतिबिधि गर्दै आएका थिए। उनको भारत उत्तर प्रदेशका बिधायक बिनायक सिंहका भाइसँग पनि ठेक्का पट्टाकै सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

ललितपुरका अर्का डन तथा कांग्रेस नेता मीनकृष्ण महर्जनमाथि गोली हानेपछि २०७१ सालमा उनको पिछा प्रहरीले गरेकाे थिए। महर्जनमाथि गोली हानेपछि पनि केही समय उनी ललितपुर १ का सभासद तथा तरुण दलका सभापति उदय शमसेर जबराको संरक्षणमा लुकिछिपी बसेको थिए।

प्रकाशित मिति: : 2020-02-12 04:37:04

प्रतिकृया दिनुहोस्