हेरौं, गोकुलका 'धर्मपिता' नेपाली जनतासामु कसरी प्रस्तुत हुन्छन् ?

सत्तासिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वासप्राप्त कार्यकर्ता, सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा आफूबिरुद्ध भ्रष्टाचारको गम्भीर आरोपमा मुद्दा लाग्नसक्ने स्थिति पैदा भएपछि पदबाट राजिनामा दिन बाध्य भएका छन् । नेपाल सरकारका लागि सेक्युरिटी छापाखाना खरिद गर्ने सिलसिलामा एउटा स्विस कम्पनीको स्थानीय दलालसँग कमिसनका विषयमा बार्गेनिङ गरिरहेको उनको अडियो टेप भाइरल भएपछि उनले गत मंगलबार पदत्याग गरेको घोषणा गरेका थिए ।
त्यो सनसनिदार अडियो टेपमा मन्त्री बाँसकोटा र  स्विट्जर्ल्याण्डको सेक्युरिटी प्रेस निर्माता कम्पनीका कथित एजेण्ट विजयकुमार मिश्रबीच भएको अन्तरङ्ग कुराकानी रेकर्डेड छ । त्यसमा मन्त्रीजीलाई 'सो डिल फाइनल भएमा ठ्याक्क कति करोड कमिसन आउने हो प्रष्ट खुलासा गर्न'  बिचौलिया मिश्रसँग बारम्बार आग्रह गरिरहेको सुन्न सकिन्छ ।
अडियो टेपका अनुसार कमिसन रकमको टुङ्गो लगाउनका लागि भएको त्यस बैठकमा मन्त्री गोकुल बाँस्कोटा र दलाल मिश्रबीच लामै कुराकानी भएको छ । त्यस क्रममा कमिसनको कुल रकम कति हुने र त्यसको लाभांश पाउने पक्षहरू (मन्त्री स्वयम्, बिचौलिया मिश्र र सम्बन्धित मन्त्रालयका दामकाम गर्ने कर्मचारीहरू) बीच त्यसको बाँडफाँड कसरी, कुन अनुपातमा हुने ? भन्ने कुरामाथि पनि खुलेरै चर्चा भएको देखिन्छ ।
मन्त्रीको मुखबाट तीन-चारपटक नै '७० करोड' भन्ने वाक्यांश निस्किएको सुनिएकाले त्यो कथित डिलबाट प्राप्त हुने दलाली ७० करोड आसपास हुने अनुमान लगाउँन सकिन्छ। बिचौलिया मिश्र मन्त्रीलाई स्विस कम्पनीको कमिसनसम्बन्धी नीतिका विषयमा सम्झाउँन खोजिरहेका देखिन्छन्। उनको कुरोको सार पनि डिल पक्का भएमा मन्त्रीले ७० करोडको आसपास 'दलाली' पाउने भन्ने नै देखिन्छ । यसैका आधारमा हुनसक्छ, यो समाचार प्रसार गर्ने मिडियाहरूले पनि यसलाई ७० करोड कमिसनको केस नै भनिरहेका छन् ।

त्यस अडियोमा मन्त्री बाँस्कोटा अलि बढी नै अनौपचारिक भएर प्रस्तुत भएका छन्। उनको हावभाव र बोलीमा रहेको भद्दा रूखोपना त्यस गोप्य वार्ताका क्रममा पनि प्रकट भएको छ। उनले मन्त्रालयका कर्मचारीलाई  हेपेर बारम्बार 'मु....कर्मचारी' भनेका छन्। र, यो डिलका बारेमा ती 'मु....कर्मचारी'लाई थाहा नै दिन नहुने कुरामा उनको जोड रहेको देखिन्छ। बिचौलिया मिश्रले महत्वपूर्ण ठाउँमा बसेका कर्मचारीलाई विश्वासमा नलिई काम फत्ते नहुने भनेपछि मन्त्रीले मिश्रलाई 'ती मु....हरूलाई मिलाउने काम पनि तपाइँले नै गर्नु पर्छ'  भनेको पनि अडियोमा सुन्न सकिन्छ।

निवर्तमान मन्त्री गोकुल बाँस्कोटा र उनले खान खोजेको तर खाई नसकेको कमिसनको ७० करोडको मामिला अहिले नेपालको सर्वाधिक चर्चाको विषय बनेको छ। नेकपाको परम्परा अनुसार केही अरिङ्गाल र छौँडाहरू गोकुलको प्रतिरक्षामा पनि देखापरेका छन् तर तिनको संख्या थोरै छ र आवाज पनि मसिनो। नेता पक्षबाट अखिलकी पूर्वप्रमुख तथा सांसद नवीना लामाले गोकुललाई षडयन्त्र गरेर फसाइएको भन्ने वक्तव्य निकालेकी छिन्। नवीनाबाहेक मन्त्री गोकुलप्रसादले राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेका कवि हरिहर अधिकारी (श्यामल) एकजनाले पनि गोकुलले त्यस्तो बदमासी गरेको नहुनु पर्ने भनेर बचाउ गर्ने हल्का प्रयास गरेका  छन्।

अधिकांश नेपालीका लागि भने मन्त्री बाँस्कोटा र कमिसन एजेण्ट विजय मिश्रबीच लेनदेनका विषयमाथि भएको त्यो गोप्य वार्ताको टेप सुन्नु एउटा पीडादायक अनुभव हुनसक्छ। त्यस कुराकानीमा मन्त्री बाँस्कोटा जुन सहजता र कन्भिक्सनका साथ कमिसन लिने/खाने कुरा गरिरहेका सुनिन्छन्, त्यो साँच्चिकै अत्यासलाग्दो छ। त्यतिबेलाको मन्त्री बाँस्कोटाको भाव भङ्गिमाको विश्लेषण गर्ने जोसुकैले पनि अनुमान लगाउँन सक्छ कि यी बाँस्कोटाका लागि घूस र दलालीको मार्जिनलाई लिएर बिचौलियाहरूसँग बार्गेनिङ गर्ने विषय स्वभाविक चर्या जस्तै भइसकेको छ।

प्रम ओलीले गोकुल बाँस्कोटालाई भ्रष्टाचार अभियोगमा लाग्न सक्ने त्यो टेपलाई नै दबाइ दिएका छन्। आफ्ना मानिसमाथि कुनै प्रकारको आँच आउनसक्ने मामिलालाई दबाइदिने कुरामा ओलीजी खप्पिस छन्। वाइडबडी जहाज खरिद प्रकरणमा त त्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई जोगाइदिन  त्यो  प्रकरण नै दबाइदिएको दृष्टान्त नै यसका लागि पर्याप्त छ।

अहिले सार्वजनिक भएर बवण्डर मच्चाएको मन्त्री बाँस्कोटा र आफ्नाबीच भएको गोप्य वार्तालापको त्यो अडियो टेपको एक प्रति बिचौलिया विजयकुमार मिश्रले प्रधानमन्त्री ओलीलाई दुई महिनाअघि नै दिइसकेको बयान दिएका छन्। एजेण्ट मिश्रको बयानले यो विवादास्पद मामिलामा देशका प्रमुख कार्यकारी केपी ओलीजीलाई पनि तानेको छ। अडियो टेपमा रेकर्डेड घोर आपत्तिजनक कन्टेण्ट सुनेर प्रमले मन्त्री बाँस्कोटासँग किन सवाल-जवाफ नगरेको ? भन्ने बडेमानको प्रश्न उठेको छ- अहिले सबै सचेत नागरिकको मनमा।

टेपमा मन्त्रीले बोलेका शब्दहरूलाई आधार बनाएर उनीमाथि  बद्नियत र भ्रष्ट मनसुवा राखी मन्त्री पदको अख्तियार दुरुपयोग गर्ने प्रयत्न गरेको अभियोगमा सजिलैसँग मुद्दा चलाउन सकिन्छ। सुशासनको नारालाई नारामा मात्र सीमित नराख्ने हो भने त्यो अडियो टेपको संज्ञान लिएर आवश्यक कार्बाही अगाडि बढाउनैपर्ने हो। तर, प्रम ओलीले यसको ठिक विपरीत, गोकुल बाँस्कोटालाई भ्रष्टाचारको अभियोगमा फसाउन सक्ने त्यो टेपलाई नै दबाइ दिएका छन्। आफ्ना मानिसमाथि कुनै प्रकारको आँच आउनसक्ने मामिलालाई दबाइदिने कुरामा ओलीजी खप्पिस छन्। नेपाल वायुसेवा निगमका लागि वाइडबडी जहाज खरिदगर्दा तत्काली पर्यटनमन्त्री रवीन्द्र अधिकारीले भ्रष्टाचार गरेको प्रष्ट किटानीका साथ संसदको सार्वजनिक लेखा समितिले दिएको छानबिन प्रतिवेदनलाई यिनले बडो ढिट्याइँका साथ दबाइदिएका थिए।

पार्टीको झोले पत्रकारिताबाट फड्को हानी वि. सं. २०७४ सालको चुनावताका चलेको कम्युनिस्ट लहरका कारण काभ्रे- ३ बाट चुनिएर संसदमा पुगेका गोकुल बाँस्कोटा र प्रम ओलीका बीच धर्मपिता- धर्मपुत्रको जस्तो सम्बन्ध छ भनिन्छ। बाँस्कोटामा निहित तमाम अयोग्यतालाई बेवास्ता गर्दै ओलीले यिनलाई क्याबिनेटको अति नै महत्वपूर्ण विभागको मन्त्री बनाएकोले पनि त्यो सम्बन्धको निकटता सिद्ध हुन्छ। बाँस्कोटालाई ओलीले बालकोटको आफ्नो घर नै पनि सुम्पिदिएका छन्। अस्ति भरखरको कुरो हो-काभ्रे धुलिखेलमा आयोजित एउटा सभामा बोल्दै प्रम ओलीले बाँस्कोटाको प्रशंसामा यति धेरै शब्दहरू खर्च गरे उनलाई त थाहा भएन होला तर सुन्नेहरू भने लाजले पानी पानी भएका थिए ।

ओलीले भनेका थिए- गोकुल बाँस्कोटा धेरै प्रतिभाहरू भएको काभ्रे जिल्लाका महाप्रतिभा हुन्। तराजुको एकातिर अरू सबैलाई र अर्कोतिर गोकुललाई राख्नु गोकुल नै भारी हुन्छन्। विडम्बनाको विषय, प्रमले विरुदावली गाएको एक हप्ता पनि नबित्दै महाप्रतिभा गोकुल एउटा कमिसन एजेण्टसँग घूसको मोलमोलाइ गरिरहेको अवस्थामा सार्वजनिक भए। त्यो मामिलाको विशाल आकार र कमिसनको रकमको ठूलो अंकलाई हेर्दा त्यो धर्मपुत्र एक्लैले निर्णय गर्न, खान र पचाउन सक्ने मामिला होइन, त्यो त धर्मपिता स्वयम् पनि संलग्न भएको घुसखोरीको मामिला हुनु पर्दछ भन्नेहरूको संख्या पनि धेरै भइसकेको छ। सामाजिक सञ्जाल ब्राउज गर्दा त यस्तै देखिन्छ। अब हेर्नु छ गोकुलका धर्मपिता नेपाली जनतासामु कसरी प्रस्तुत हुन्छन् ।

प्रकाशित मिति: : 2020-02-22 13:19:39

प्रतिकृया दिनुहोस्