जावलाखेल चिडियाखाना, ८ सय ७० जनावर, कोही हिष्टपुष्ट, कोही दुब्लाए (भिडियो)

राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गरिरहेको जावलाखेलस्थित सदर चिडियाखाना  राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले १९८८ सालमा स्थापना गरेका थिए। १५ एकड क्षेत्रफलमा फैलिएको यो चिडियाखाना २४ वर्षसम्म राणाहरूकै निजी सम्पत्तिको रुपमा रह्यो। यसलाई २०१२ सालमा आएर सर्वसाधारणका लागि खुल्ला गरियो।

चिडियाखानामा हाल १ सय ९ प्रजातिका ८ सय ७० जनावर रहेका छन्। यहाँका धेरै ठाउँहरू जनावरको बसोबासका लागि निर्माणाधीन अवस्थामा छ।
चिडियाखानाको मूलढोकाबाट प्रवेश गरेर अगाडी बढ्दा पहिलो सूचीमै रहेको गोही नदेखिने अवस्थामा पुगेको छ। पोखरीको राम्रो सरसफाई नहुँदा हरियो बनाएर बसेको लेउ तथा फुन्जाईले गोही हेर्न हम्मे पर्छ।


चिडियाखानामा रहेको सबै वन्यजन्तुको अवस्था दुरुस्त देखिदैन। तरपनि शाहाकारी वर्गमा पर्ने नील गाई, मृगका विभिन्न जाति, जरायो, घोरल, चौशिङ्गा आदिलाई उनीहरूको प्राकृतिक वासस्थान अनुसारको आहारा दिने गरिएको डाक्टर पर्वतजङ्ग थापाले जानकारी दिए। ‘सुख्खा घाँसपात, फलफुल तथा रुखका बोक्रा उनीहरूको प्रमुख आहारा हो,’ उनले भने।

यस्तै, सर्वभक्षीअन्तर्गत बदेल तथा भालुका आहारा फलफुल, घाँस, मासु पनि उपलब्ध गराउँदै आएको उनी बताउँछन्। तर, घना जंगल तथा सिमसार क्षेत्रमा बस्न रुचाउँने बदेलको वासस्थान भने अनुकुल देखिदैन।


मांसाहारी प्रजातिका चितुवा तथा बाघको पनि प्राकृतिक अनुकुल वासस्थान देखिदैन। जावलाखेल चिडियाखानामा ४ बिशेष प्रकारका जनावर छन्।

१ स्तानधारी समूह
२ सरीसृप समूह
३ माछा समूह
४ चरा समूह

जनावरलाई पनि ढाड भएका र  ढाड नभएको गरी २ भागमा विभाजन गरिएको छ, जसमा ढाड भएका ३४ प्रजातिका जनावर सदर चिडियाखानामा छन्। यस्तै स्तनधारी समूहअन्तर्गत ३२ प्रजातिका छन्, जसमा २७ प्रजाति स्थानीय र ५ प्रजातिका जनावर विदेशबाट ल्याइएको छ। स्तनधारी समूहका कूल २ सय ३४ जनावर चिडियाखानामा रहेका छन्।

यस्तै, सरीसृपअन्तर्गत ९ प्रजातिको जनावर छन्। जसमा ७ प्रजाति स्थानीय र २ प्रजाति विदेशी छ। कूल १९ वटा संख्यामा सरीसृप समूहका जनावर रहेका छन्।


कूल २ सय ४६ को संख्यामा माछा रहेकोमा २१ प्रजाति विदेशबाट ल्याइएको छ।

चरा समूहअन्तर्गत ६३ प्रजातिमध्ये ४५ स्थानीय र १६ विदेशबाट आयात गरिएको छ। चराको संख्या कूल २ सय ९३ रहेको छ।

मांसाहारीमध्ये बाघले दैनिक ७ देखि ८ केजीसम्म मासु खाने गर्दछ। पुरुष बाघलाई १५ आइबीएस र महिला बाघलाई १३ आइबीएस मासु दिने गरिएको छ। उनीहरूलाई भैसी, घोडा ठूला चरालगायत बाख्राको मासु दिने गरिएको छ।

प्रकाशित मिति: : 2020-02-28 20:40:00

प्रतिकृया दिनुहोस्