भारतसँग सिमाना जोडिएका दाङका २६ नाका बन्द

कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण फैलिन नदिनका लागि दुई देशका अधिकारीबीच सहमति भएर दुवैतर्फको नाका आइतबारदेखि पूर्णरूपमा बन्द गरिएको हो।

बन्द गरिएका नाकामा कोइलावास, पटौली, सुनपथरी, भौवा, खाङ्ग्रा, डगमारा, गुरुङ, भैसाही सिरिया, भौरिसाल, मुन्सीलगायतका ठूला–साना गरी २६ नाका छन्।

 स्थिति सहज नहुँदासम्म ती नाका पूर्णरूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी निगरानी बढाइरहेका छन्। 

यसअघि कोइलावास नाकामा भने जनस्वाथ्य कार्यालयले हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण गर्दै आएको थियो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ ले कोभिड–१९ को सङ्क्रमणबाट बचाउनका लागि भन्दै वडावासीलाई निःशुल्क रुपमा कपडाको मास्क वितरण गरेको छ। 

तुलसीपुर बजारमा रहेको वडा कार्यालयबाट दुई हजार मास्क वितरण गरेको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए। 

वडा नं ५ तुलसीपुर बजारको मुख्य क्षेत्रमा पर्ने भएकाले यहाँ बढी भीडभाड हुने भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सतर्कताका लागि आज पहिलो चरणमा दुई हजार मास्क वितरण गरिएको हो।

यसैबीच तुलसीपुर बजारसहित दाङका बजारमा स्यानिटाइजर र सर्जिकल मास्क भने अभाव छ। यहाँका स्वास्थ्य संस्थामा काम गर्नेदेखि सबैले कपडाका माक्स लगाएर काम गर्दै आएका छन्। 

सर्वसाधारण स्यानिटाइजर किन्नका लागि यहाँका विभिन्न औषधि पसल तथा अन्य पसलहरुमा जान्छन् तर नपाएर रित्तै फर्कने गरेका छन्।

प्रकाशित मिति: : 2020-03-24 05:38:06

प्रतिकृया दिनुहोस्