कोभिड १९ : गल्छीमा २५  क्वारेनटाइनमा

रासस

धादिङ

रोजगारीका क्रममा भारतबाट आएका  गोगनपानीका १६ युवालाई गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ। 

ती युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीले  बताए।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने छ। क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले  बताए।

 यसअघि सम्भावित जोखिमलाई मूल्याङ्कन गरी बागेश्वरी माध्यमिक विद्यालयमा २५ शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो। उनीहरुलाई सोही कक्षमा राखिएको जनाइएको छ।

यसैगरी गल्छी १ मा नौ जनालाई आफ्नै घरमा निगरानीमा(होम क्वारेनटाइन) मा राखिएको छ। उनीहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तर छुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिइन्। 

भारतमा मजदूरी गर्न गएकाहरु घर फर्किएपछि उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको हो। उनीहरु सबैको अवस्था सामान्य छ।

प्रकाशित मिति: : 2020-03-26 07:44:41

प्रतिकृया दिनुहोस्