जलविद्युत् आयोजनाको निर्माण ठप्प

रासस

म्याग्दी

कोराना भाइरसको त्रासका कारण म्याग्दीमा जलविद्युत्लगायत विकास आयोजना निर्माण ठप्प भएका छन्। 

भाइरस भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८।५ मेगावाट क्षमताका छ आयोजना निर्माण रोकिएका हुन्। लकडाउन र निषेधाज्ञापछि आयोजना रोकिँदा हजाराँै मजदुर प्रभावित भएका छन्। 

अन्नपूर्ण गाउँपालिकाको दानामा २२० केभी क्षमताको सवस्टेशन र प्रसारण लाइन निर्माणाधीन छ। नारच्याङस्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवद्र्धकले जनाएका छन्। 

रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७।५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन्। मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । 

४०० भन्दा बढी मजदुरलाई विभिन्न क्याम्पमा सुरक्षित साथ राखिएको निलगिरि हाइड्रोका इञ्जीनियर केशव वाग्लेले बताए। मिस्त्रीखोला जलविद्युत् आयोजनाका इञ्जीनियर दिवाकर खड्काका अनुसार ३०० भन्दा बढी मजदुर, प्राविधिक पनि काम रोकेर एकान्तवास बसेका छन्। 

निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला वैशाखभित्र परीक्षण उत्पादन गर्ने तयारी थियो। घारखोलाको प्रवद्र्धक म्याग्दी हाइड्रोपावरका प्रकाशचन्द्र पौडेलले ३०० भन्दा बढी मजदुर क्याम्पमा बसेको बताए।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले लकडाउन घोषणालगत्तै आयोजनाको काम रोकिएको बताए। भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका ४०० भन्दा बढी मजदुरलाई क्याम्पमा राखिएको छ। 

सतर्कता अपनाएर क्याम्पबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ। बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण जिसीले बताए। 

कोरोनाको त्रासले जलविद्युत्लगायत पूर्वाधार आयोजनाको कार्यतालिका प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खाद्यान्न र ग्यासको अभाव नभएको बताएका छन्।

प्रकाशित मिति: : 2020-03-28 00:46:03

प्रतिकृया दिनुहोस्