जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड

रासस

सुर्खेत

लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ। सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो। 

लकडाउन, कफ्र्यू, निषेधाज्ञालगायतका बेला अति जरुरी काम विशेषले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ।  

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले प्रशासनमा सरकारी कर्मचारी, बिरामी तथा बीचबाटोमा अलपत्र परेकाहरुले पास लिन आउने गरेको बताए। लकडाउनले अन्य सेवा बन्द भए पनि पास लिनेको प्रशासनमा दैनिक भीड लाग्ने गरेको छ। 

बर्दिया राजापुर नगरपालिका–६ मनुवाका ईश्वर शाहीले दुई दिनदेखि प्रशासन धाए पनि पास नपाएको बताए। 'जाजरकोटबाट बर्दिया जानका लागि छ दिनअघि सुर्खेत आएको थिएँ, लकडाउनले यतै रोकिएँ, आज फेरि पासकै लागि आएको छु' उनले भने।

लकडाउनले यातायात बन्द भएपछि सिकिस्त बिरामीलाई उपचारका लागि लैजान समस्या भएको छ। दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटका ७९ वर्षीय वीरबहादुर महतारालाई किमो चढाउन भरतपुर क्यान्सर अस्पतालमा जानुपर्ने बाध्यता छ। 

चितवनसम्म जाने सवारी पास लिन उनका छोरा डम्बरबहादुर लाइनमा बसेका छन्। सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि अन्य दिनभन्दा आज प्रशासनमा पास लिन आउनेको भीड बढेको छ।

प्रकाशित मिति: : 2020-03-30 06:29:36

प्रतिकृया दिनुहोस्