चन्दा उठाएर क्वारेन्टाइन निर्माण

रासस

मेलम्ची

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ। धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको छ। 

चालीस जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली र सौर्यबत्ती, खानेपानी, पङ्खा, महिला र पुरुषका लागि छुट्टै स्नानगृह र शौचालयको व्यवस्था गरिएको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए। अहिले भने १५ जना क्षमताको तयारी भएको छ। इच्छा हुने एक व्यक्ति बराबर रु एक हजार  संकलन गरेर क्वारेन्टाइन बनाइएको हो।

क्वारेन्टानमा धुस्कुन स्वास्थ्यचौकीका इन्चार्ज रहनेछन्। क्वारेन्टाइन बनाउन नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी र  स्थानीय समाजसेवीको सहयोग रहेको रिसाल बताउछन्। 

अस्थायी क्वारेन्टाइन सञ्चालनका लागि युवा व्यवसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि पाँच थान गाउन र  ५०० थान मास्क निःशुल्क उपलब्ध गराउनुभएको थियो। त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले पाँच सय थान मास्क प्रदान गरेको छ।

चार जना आइसोलेशनमा

विदेशबाट फर्किएका चार जनालाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेशनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेशनमा रहने चार जना पुगेको हो। 

रिजाललाई चौतारा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ। यसअघि इराकबाट फर्केका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेमा राखिएको थियो। उनीहरु अझै आइसोलेशनमै छन्। उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ। 

बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा उपचाररत उनीहरुको शनिबार स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ।
 

प्रकाशित मिति: : 2020-03-30 11:20:17

प्रतिकृया दिनुहोस्