नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुग्यो 

रासस

काठमाडौँ 

नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ‘छ’ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिएका हुन्। उनका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुन्। 
    
यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ। पहिलो कोरोना सङ्क्रमित व्यक्ति भने उपचारपछि ठिक भएर घर फर्किसकेका छन्। 

दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुन्। उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन्। उनमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो। 
    
त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ। डा देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको जानकारी दिए। उनले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताए। उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिए।
    
उनले बुटवल, सुर्खेत, हेटौडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताए। जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ। आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचारत छन्। जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत छन्। उनका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरेको छ। त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताए।

प्रकाशित मिति: : 2020-04-02 19:14:19

प्रतिकृया दिनुहोस्