कोरोनाको महामारीमा जातीय विभेदको समस्याः संयुक्त राष्ट्र संघको चासो

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

कोरोना भाइरसको प्रकोपका बेला जातीय विभेदको मारमा मानिसमाथि अन्याय परेको भनी संयुक्त राष्ट्र संघमा धेरै उजुरी परेपछि संघले टास्क फोर्स नै बनाएर घटनाहरुको छानविन गरिरहेकोछ। 

गत वर्ष डिसेम्बरकाे तेस्राे सातादेखि चीनको उहान शहरबाट फैलिएकाे कोरोनाको संक्रमणले अहिले विश्वको ध्यान खिचिरहेकाे बेला अमेरिका र युरोपमा रहेका चिनियाँमाथि अभद्र व्यवहार गरिएका घटना बाहिर आएका छन्। युरोपको ‘इपिसेन्टर’ मानिएकाे इटालीका विभिन्न शहरमा चिनियाँमाथि नराम्रो व्यवहार भएको र लण्डनको मेट्रोमा चिनियाँ जस्तै देखिने फिलिपिन्सका नागरिकमाथि हातपात भएको थियो। 

यस्तै जर्मनीकाे म्युनिख, स्पेनकाे बार्सिलोना र मड्रिड तथा पाेर्चुगलकाे लिस्बन जस्ता शहरमा चिनियाँ जस्ता देखिने मंगोलमाथि तल्लो स्तरको व्यवहार भएको भनी सम्बन्धित देशले वैधानिक रुपमा बसेका आफ्ना 
नागरिकमाथि भइरहेकाे अशिष्ट व्यवहार राेक्न अपील गर्दै राष्ट्र संघमा उजुरी गरेका हुन्।

पछिल्लो समय युरोपका विभिन्न कोरोना प्रभावित मुलुकमा काम गरिरहेका आफ्ना नागरिकको जीउधनको सुरक्षा नहुने चिन्ता व्यक्त गर्दै मानवअधिकार क्षेत्रमा दखल राख्ने अफ्रिकी मुलुकका राष्ट्र संघअन्तर्गत मानवअधिकार विशेषज्ञहरुले पनि वक्तव्य जारी गरेका छन् । फ्रान्स, इटाली र स्पेनमा कार्यरत हजारौँको सँख्यामा रहेका अफ्रिकीको रोजगारी खोसिएको र 
बिरामी परेको बेला पनि गोरा नागरिक सरह व्यवहार नभएको भन्दै उनीहरुले वक्तव्य निकालेका छन्। 

चिनियाँ जस्ता देखिने नेपालीमाथि केही नराम्रो व्यवहार भए पनि बेलायतमा गोर्खा सैनिककाे लोकप्रियताको कारण अप्रिय घटना हुन पाएकाे छैन। छिटफूट उजुरी बाहेक नेपालीबाट धेरै उजुरी आएकाे छैन। युरोपमा कोरोनाको महामारी फैलिएपछि अहिले स्थिति ठीक उल्टो भएको छ । थाइल्याण्ड, भियतनाम, फिलिपिन्स जस्ता एशियाली मुलुकमा गोरो वर्णका व्यक्तिमाथि नराम्रो व्यवहार भएको छ।

फिलिपिन्सका कतिपय शैलूनमा कोरोना भाइरसको संक्रमित भएको शंकामा हजामहरुले कपाल काट्नै नमानेर तनावको स्थिति सिर्जना भएकाे छ। ‘सार्वजानिक ठाउँमा कुटपिट भएका घटनाकाे उजुरी राष्ट्र संघमा परेको छ,’ रंगभेदविरोधी टास्क फोर्स जेनेभाका टेन्डांग आयूमले जानकारी दिए। 

संयुक्त राष्ट्र संघका महासचिव आन्तोनियो गुटेरसले रंगकै कारण दुर्ब्यवहार हुनु मानवताविरोधी काम भएको बताउँदै भने, ‘मानवतालाई मुख्य आधार बनाएर हामीले काम गर्नुपर्छ। त्यसो भएका क्षेत्रमा सबैको बराबरी अधिकारको निम्ति तत्कालै काम गर्न सम्बन्धित सरकारसँग अनुरोध गर्दछु।’ 

संयुक्त राष्ट्र संघले अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भनेर गलत व्याख्या गरेको बेला पनि राष्ट्रपतिको भनाइप्रति आपत्ति प्रकट गर्दै वक्तव्य निकालेको थियो।
 

प्रकाशित मिति: : 2020-04-07 07:30:43

प्रतिकृया दिनुहोस्