रिसले मानिसको ‘इम्युनिटी पावर’ घटाउँछ, कोरोनासँग लड्न सकारात्मक उर्जा प्रभावकारी: मनाेराेग विशेषज्ञ डा. ओझा(भिडियाे)

मनीषा अवस्थी

काठमाडाैं

कोरोना भाइरसका कारण यतिबेला पुरै विश्व त्रसित छ। चीनको उहानबाट फैलिएको कोरोना भाइरस कतिपय देशमा नियन्त्रणमा आए पनि शक्तिशाली देशलाई पनि हायलकायल बनाइरहेको छ।  हालसम्म भाइरसबाट २० औं लाख मानिस संक्रमित बनिसकेका छन् भने लाखौंको मृत्यु भइसकेको छ।

नेपालमा पनि यसको प्रभाव बढिरहेको छ। हाल नेपालमा यसको जोखिम दोस्रो चरणमा छ।  तर, दिनहुँ आइरहेका त्रासपूर्ण समाचार, हल्ला, अफवाह र घरभित्रै बस्नुपर्ने बाध्यताका बीच नेपालीहरूको मनोदशा दिन प्रतिदिन खस्किदै गइरहेको छ। यति बेला कयौं मानिस सामाजिक सञ्जालमा आफ्नो समय बिताइरहेका छन् भने केही घर परिवारमै व्यस्त छन्। नेपालमा ‘लकडाउन’का कारण गाउँभन्दा शहरी क्षेत्रका मानिस कामविहीन बनेका छन्।

अहिलेको अवस्थामा आम मानिसको मानसिकता कस्तो बनिरहेको छ? कसरी तनाव व्यवस्थापन गर्ने लगायतका विषयमा मानसिक रोग विशेषज्ञ डा. सरोज ओझासँग बिएल नेपाली सेवाका लागि मनीषा अवस्थीले गरेको कुराकानी ।

अहिलेको अवस्थालाई कसरी बुझ्नुभएको छ?

अहिले हामी सबैको लागि प्रतिकूल अवस्था हो। मानिसको मनमा एक किसिमको डर र त्रास छ। तनाव हामी सबैले अनुभव गरिरहेका छौं। अब के हुन्छ, फलानो देशमा त यस्तो भएछ, लौ नेपालमा पनि देखियो भन्ने कुराले मानिसमा तनाव बढाइरहेको देखिन्छ। छिमेकी भारतमा पनि बढिरहेको छ। यसको प्रभाव नेपालमा पनि बढिरहेको सन्दर्भमा हाम्रो मनोेविज्ञानमा पनि यसको प्रभाव गम्भीर रुपमा देखिएको छ। 

अहिले ‘लकडाउन’ मा बसिरहेकाहरुको मनोविज्ञान कस्तो देखिन्छ?

यो समस्या नेपालको मात्रै होइन। तनावले गर्दा कति मानिसमा निन्द्राको समस्या देखा परिसकेको छ। कति मानिसको खानामा समस्या देखिएको छ। कति मानिसमा ध्यान केन्द्रित गर्न नसकेर समस्या उत्पन्न भएको छ। कतिपय दीर्घरोगी आत्तिएका छन्। कति मानिसले तनाव व्यवस्थापन गर्न नसकेर रक्सी, चुरोट, गुट्खा सेवन गरिरहेका छन्। 

‘लकडाउन’मा अत्यावश्यक सेवामा काममा रहेकाले कसरी तनाव व्यवस्थापन गर्ने होला?

हो, अहिले एकदमै आवश्यक सेवामा खटिरहेकाले नै यो विषम परिस्थितमा विश्व एक ठाउँमा जोड्दै काम गरिरहेका छन्। जसलाई हामी ‘फ्रन्टलाइनर’ भन्छौं। उहाँहरु अझै विशेष संयम र सजक हुन जरुरी छ। किनकी अहिलेको अवस्थालाई नियन्त्रण गर्ने जिम्मेवारी उहाँहरूकै काँधमा छ। 

तर पनि यो जटिल परिस्थितिमा तनावमा हुनु, डर हुनु स्वभाविकै हो। तर, जिम्मेवार पेशाधारीले आफूले आफैलाई सुरक्षित राखेर समाजका लागि काम गर्नैपर्छ। यस्तै मनस्थिति बनाउन जरुरी छ। सकारात्मक विचार राखेर सावधानीका साथ काममा जानुपर्छ।  

तपाई एउटा डाक्टर हुनुहुन्छ । अहिलेको परिस्थितिमा तपाईको सम्पर्कमा आउने बिरामीको मानसिक अवस्था कस्तो पाउनुभएको छ?

म अहिले पनि हरेक दिन बिरामीसँग फोनमा कुरा गरिरहेको छु। धेरैजसोेले डराइरहेको नै बताउनुहुन्छ। कतिपय बिरामी औषधी सकियो कहाँबाट ल्याउने? पाउँछ कि पाउँदैन भनेर फोन गरिरहनुभएको छ। कतिपयले तनाव कसरी व्यवस्थापन गर्ने भन्ने उपाय खोजिरहनुभएको छ।

यो अवस्था हेर्दा पहिलेदेखि नै बिरामी भएकामा अस्पताल पुग्ने कसरी, औषधी कसरी किन्ने डर छ। स्वस्थ्यहरूले कसरी तनाव व्यवस्थापन गर्ने भन्ने डर देखिएको छ।  

यो अवस्थामा मानिसले आफ्नो दिनचर्या कस्तो बनाउँदा तनाव व्यवस्थापन गर्न सकिन्छ?

यस्तो अवस्थामा घरमा रहँदा मानिसको स्वस्थ्य जीवनशैली सबैभन्दा महत्वपूर्ण हो। यो भने बिहान उठ्नेदेखि सुत्नेसम्मका सबै क्रियाकलाप सन्तुलित हुनुपर्यो। खानेकुराको सन्तुलन र स्वछतामा विशेष ख्याल गनुपर्यो। सजिलै पच्ने खानेकुरा खानुपर्छ। यसैगरी शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने भिटामिन ‘सी’ पाइने खानेकुरा खाने, दुधजन्य पदार्थ खान सके राम्रो। तर खानेकुरा प्रयाप्त बजारमा उपलब्ध नभए पनि जे उपलब्ध छ त्यही खाने गर्नु राम्रो हो। 

अहिले समय प्रसस्त छ भनेर धेरै सुत्नु हुदैन। समयमा उठ्ने, समयमा सुत्ने गर्नुपर्छ। योगा र ध्यान गर्दा पनि आफूलाई नियन्त्रण गर्न विशेष सहयोग गर्छ। आफूलाई ‘एक्टिभ’ राख्नुपर्छ। नियमित ७ देखि ८ घण्टा सुत्ने, घाम ताप्ने, नियमित ब्यायाम गर्ने काम गरौं। यसले शरीरलाई बलियो राख्न मदत गर्छ। 

अर्को महत्वपूर्ण कुरा तनाव व्यवस्थापनका लागि सकारात्मक हुन जरुरी छ। जसका लागि नकारात्मक समाचार धेरै नपढौं। अहिलेको अवस्थामा नकारात्मक समाचार भन्नाले मानिसको मृत्यु भएको, संक्रमण बढेका समाचार सकेसम्म दिनमा एकपटक मात्रै पढौं। बरु मनोरञ्जन दिने र जीवन उर्जाका कुराहरु पढ्ने गरौं। तनाव हुँदा नजिकका मानिससँग आफ्नो कुरा शेयर गर्नसके पनि तनाव व्यवस्थापन गर्न सहज हुन्छ। 

यसैगरी आफन्तसँग बढी कुरा गरौं। 

अहिले सबै मानिस घरमा रहँदा घर झगडा बढ्ने अथवा घरेलु हिंसा बढी भएको भन्ने गुनासो बढेका छन्। यसलाई कम गर्न तपाईको सुझाव के छ?

अहिले मानिस फुर्सदमा छन्, तनाव बढ्दै गइरहेको छ। जसका कारण झर्किने, झगडा गर्ने, रक्सी खाएर घरेलु हिंसा गर्ने प्रवृत्ति बढेको सुनिएको छ। यस्तो अवस्थामा रहेका मानिसलाई म के भन्न चाहन्छु भने–रिस र तनावले मानिसको ‘इम्युनिटी पावर’ घटाउँछ। त्यसकारण झगडा, विवाद तथा त्यसको समाधानका लागि सामान्य अवस्थामा पहल गर्ने हो।

यस्तो अवस्थामा जो मानिस भए पनि मानवीयताको हिसाबले नजिकमा रहेकाको सुरक्षाका लागि पहल गरौं। 

अध्ययनले नै के देखाएको छ भने–जो मानिस मानसिक रुपमा स्वस्थ छ त्यसले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। जो मानिस सधैं दुःखी भएर बस्छ त्यो मानिसलार्ई रोगले छिटो आक्रमण गर्न सक्छ।  त्यसकारण अहिले खुशी रहौं। 

अन्त्यमा, आम मानिसलाई के भन्नुहुन्छ?

अहिलेको अवस्थामा हामीले आफूलाई नियन्त्रण राख्नुपर्छ। कोरोनाभन्दा कडा रोग धेरै छन्। क्यान्सरले कति मानिस मरिरहेका छन्। अन्य रोगबाट पनि संसारमा दैनिक हजारौं मानिसको मृत्यु भइरहेको छ। त्यसैले यसबाट मर्नेको दर हेर्दा धेरै ठूलो रोग होइन तर जुन किसिमको यसको सर्ने क्रम छ। त्योबाट भने हामी जोगिनुपर्छ भने अर्कोतिर यसका लागि उपलब्ध औषधि तथा भ्याक्सिन उपलब्ध नहुँदा समस्या बढिरहेको छ। यसको नै बढी त्रास मानिसमा  छ। तर अहिले विकसित देशको अभ्यास हेर्दा यो भाइरस नियन्त्रणका लागि ‘लकडाउन’लाई सबैले स्वीकार गर्नुपर्छ। यसबाट बच्न एकमात्र उपाय संयम भएर स्वीकार्नुको विकल्प छैन। यही मनोविज्ञानमा बस्नुपर्छ। 

त्यसकारण अहिले तनाव नलिएर, खुशी भएर सकारात्मक मनोविज्ञानमा बसौं। सकारात्मक उर्जाले नै हामी सबैको कल्याण गर्छ। 

प्रकाशित मिति: : 2020-04-20 20:08:00

प्रतिकृया दिनुहोस्