लोली, तिम्रो स्वर्गमा बास होस्

अप्रीलको पहिलो साताको कुरा हो। एकाबिहानै लोलीले  मलाई देख्नासाथ मिठो मुस्कान दिँदै ग्रीटिंग्स् गरिन् र हतपत पर्समा भएको जम्मै पैसा देखाउँदै गएको महिना मसँग सापट लिएको पैसाको आधा रकम झिकेर फिर्ता लिन भनिन्।

मैले छक्क परेको जस्तो अभिनय गरेर कड्केको स्वरमा भने, ‘होइन तिमीसँग हिजो साँझसम्म त एक पेन्नी पनि थिएन त। चुरोट खान नपाएर छट्पटाउने तिमीले मलाई पनि धेरै नराम्रो ब्यवहार गरेकी थ्यौं, अकस्मात् कहाँबाट आयो यो पैसा? कोरोना लागेको पैसा मलाईँ चाहिँदैन।’

उनले मलाई बेलिबिस्तार लगाउँदै भनिन्, ‘कोभिड-१९ का कारण एक महिनादेखि क्वारेन्टाईनमा बस्नुपरेको तिमीलाई थाहा नै छ। अस्ती साँझ किड्नीको डायलासिस गर्न गएँ। धेरै राति मात्रै फर्किएँ। थकाईले सुतिहालेँ। क्वारेन्टाईनमा बस्दा बस्दा प्राय: सबै लोग्ने मानिहरू निक्कै रूखिएका र बोर भइसक्यारहेछन्। मेरो रूममेट पनि गत सातादेखि कोभिड १९ भएर भेन्टिलेटरमा छिन्। उनी र म दुबै अन्डरलाईन मेडिकल कण्डिसनका हौं। हामी दुबै ब्ल्याक अमेरिकन्। उनी र म दुबै डायलासिस गर्छौं। फरक यति छ उनी एचआईभी पोजेटिभ हुन म होइन।’

उनले अगाडि भन्दै गइन्, ‘म ५० वर्षकी, उनी म भन्दा ११ वर्षले जेठी छिन्। उनको प्रेशर सधैं लो हुन्छ र मेरो हाई। म एक्लै भएको मौका पारेर हिजो राति मलाई केही मानिसहरू कोठामै भेट्न आएका थिए। नत्र म मध्यरातमा बाहिर बरण्डामा निस्कनु पर्नेहुन्थ्यो। पालैपालो गर्दै जाँदा   अलिकति पैसा जम्मा भएछ। पहिला तिमीसँग लिएको सापटी तिरिहालौं भनेर तिमीलाई कुरेर बसेकी थिएँ। तिमीसँग बोल्न पनि मलाई कस्तो सरम लागिसकेको थियो।’

यसो भन्दा उनलाई कुनै गर्व थिएन। मैले पनि यहीँ हो मौका भनेर ‘म एक दुई वटा प्रश्न सोध्न सक्छु?’ भनेर अनुमति लिएँ। उनले पछाडि टाउको कन्याउँदै, मुख अमिलो पार्दै मुण्टो हल्लाएर सहमति जनाईन्।

मैले केही व्यक्तिगत प्रश्न गर्छु भनेर उनलाई थाहा थियो। ‘मैले बारम्बार तिमीलाई भनेको होइन, मान्छेसँग ह्याङआउट गर्न पुरै बन्द गर्नु भनेर। तिमीलाई कोरोनाबाटै मर्ने मन छ हो?,’ मैले यति सोध्न नपाउँदै उनले जवाफ दिन थालिन्। ‘तिमीले भनेका हरेक कुरा मेरो कानमा गुन्जिराखेको थियो। तर, मैले यसो सोच विचार गरेँ। एक त किड्नीले काम गर्न छोडेकै दिनदेखि म मरिसकेकी छु। मेरो क्वालीटी लाईफ पनि त छैन। वाकर केनको सहायताले हिँड्छु। अर्को कुरा यो मेरो शरीरसँग खेल्न चाहनेहरू त एक महिनादेखि क्नारेन्टाईनमा नै सुरक्षित छन्। म मात्रै डायलिसिसका लागि भित्र बाहिर गरिराखेको छु। तिमीलाई थाहै छ म गाँजालगायत ड्रग्स र ड्रिंक बिना  बाँच्न सक्दिनँ भनेर। नखाईकन एक मिनेट पनि टिक्न सक्दिनँ। कम्तिमा पनि दिनमा चार पटक तान्नैपर्छ। यसका लागि एकदिनको कम्तिमा ३५ डलर चाहिन्छ। गाँजा तानेपछि भोक लाग्छ। अनि खाना किन्न कम्तिमा १० डलर गर्दा कति भयो? तिमी आफै हिसाब गर। म महिनौंसम्म एकदमै ज्ञानी तिमीले भनेजस्तै गरेर कसैलाई नभेटि बसेकी थिएँ। तर, मेरो झण्डै ११ सय डलर पैसा ऋण लागेको रहेछ। सबैले पैसा फिर्ता माग्न थाले। तिमीलाई थाहा छ मेरो सोसियल सेक्यूरिटी डिसएब्लिटीको पैसा सबै कोठा भाडामा जान्छ भनेर। म सँग एक पैसा छैन। अनि मैले सबैलाई चित्त त बुझाएरै पठाउनु पर्‍यो । चित्त नबुझाए फेरि मलाई कस्ले सापटी दिन्छ र?’ 

म ६ फिटको दुरीमा मास्क र गाउन लगाएर उनीसँग उभिएर कुरा गरिरहेकी थिएँ। ‘तिमीसँग मलाई अब डर लाग्यो। मलाई कोभिडको बिरामी हुनुछैन। बाईं!’, भनेर मात्र के भन्दै थिएँ। उनले रोकिन्, ‘भगवान कसम मैले मास्क लगाएको थिएँ र उनीहरूलाई पनि मैले मास्क लगाउन आग्रह गरेको थिएँ। मलाई कोरोना लागेको छैन। विश्वाश गर।’

मैले उनलाई जोक गरे जस्तै गरेर भने, ‘कोरोना भाईरसको लागि तिम्रा ग्राहकलाई मुखमा मास्क लगाउन आग्रह गर्‍यौं , अनि ईम्यूनो डेफिसेन्सी भाईरसका लागि चाहीँ के लगाउन आग्रह गर्‍यौं नि?’ उनी पनि मज्जैले हाँसिन र भनिन्, ‘आई क्यान्ट टक टु यु एनिमोर।’

अँ अनि अब तिमीले काम पनि बढायौ नि। क्यामरामा तिमीसँग भेट गर्नेको लिष्ट बनाएर आईसोलेसनमा राख्नुपर्ने भो। हामी स्टाफलाई पनि मार्ने भयौ नि तिमीले। ‘हलमा दुबैतर्फ फर्केको क्यामरालाई मैले सलले छोपेकी थिएँ। तिमीले क्यामरामा धेरै मेहनत गर्नुपर्छ पत्ता लगाउन।’

तेसो भए ल मलाई ती मानिसहरु को को हुन् भन। कमसेकम म त बाँच्न सक्छु कि। उनले मलाई सबैको नाम बताईदिईन्। ल त फेरि कुरा गरौला भनेर म अर्कै काममा फर्किएँ।

अर्को दुई दिन म बिदामा थिएँ। तर पनि मैले उनको बारेमा सोचिरहेँ। तेस्रो दिन बिहान पहिला साईन-ईन गरिसकेर एक दुई जनालाई औषधि बाँडेर उनकै कोठामा हान्निएँ। ढोका ढकढक पारेँ। उनले मधुरो स्वरमा भनिन्, ‘कम ईन।’

उनलाई लहरे सुख्खा खोकी लागिरहेको थियो। ज्वरो नापेँ। १०३ डिग्री आईरहेको थियो। यसो फोहोर फाल्ने डस्टबिन चेक गर्दा टिस्यू पेपरमा खुन पनि थियो। उनले टिस्यूमा रगत भएको कुरा कसैलाई नबताउन आग्रह गरिन्। ‘म अस्पताल कुनै हालतमा जान्नँ। डाक्टर आउने बेला भएपछि म सिटामोल खाएर ज्वरो घटाएर बस्छु,’ भनिन्।

मैले उनले भनेको कुरा नसुनी फटाफट रिपोर्ट बनाएर सुपरभाईजरको टेबुलमा राखिदिएँ।  म घर फर्किएँ। उनी जब्बर मान्छे। गाँजा खाएरै कोरोना जित्छु भन्ने ठानेकी थिईन्। तर मध्यरातमा भेन्टिलेटरमा पुगिछन्। भोलिपल्ट बिहान मात्रै मैले थाहा पाएँ। मैले उनलाई अस्पताल जानेबेलामा बाई गर्न पाईनँ।

डेढ वर्ष अगाडि मात्र उनीसँग मेरो भेट भएको थियो। कडा र आक्रामक स्वभावले उनलाई कसैले पनि मन पराउँदैन थिए। उनको छेउमा जान र कुरा गर्न कसैले नमानेपछि उनी मेरो भागमा परिन्। अलिकति नरम र मिजासिलो स्वभाव भन्ने ठानेर कसैले डिल गर्न नसकेका सबैभन्दा कठिन मान्छेहरू मेरो भागमा हालिदिएका हुन्छन्।

शुरूको पहिलो महिना त मलाई उनीसँग डिल गर्न कम्ता मुस्किल परेन। कस्टमर सर्भिसको फर्मूला L.A.S.T ले काम नगरेर कतिपटक उनका शब्दबाडले घोचेर आँशु खसाल्दै मेरो लीष्टबाट कृपया उनलाई हटाईदेउ भनेर सुपरभाईजरकहाँ पनि पुगेँ। केही दिन हटाईन पनि। तर कसैले उनीसँग काम गर्न नमानेपछि उनलाई राम्रो ब्यवहार नगरेको र नियम कानुन पालना नगरेको भनेर बिल्डिङ छोडेर अन्तै जान भनि वार्निङ लेटर थमाईयो। उनी पनि कोठा खोजिरहेकी थिईन् र नजाउन्जेलसम्मका लागि भनेर घुमिफिरी मेरै वर्क अर्डरमा परिन्।

मैले विस्तारै उनी वास्तवमै के चाहन्छिन् भनेर बुझ्दै गएँ। पहिला उनलाई ‘तिमी कति राम्री, अग्ली, लुगाले कति सुहाएको, तिमी हेर्दा त फिल्म स्टार जस्ती लाग्ने, तर ब्यवहार किन रूखो देखाएकी? केही रहस्य लुकेको हुनुपर्छ’, यस्तै आम महिला जसरी मख्ख पर्छन् त्यस्तै  तरिकाले कुरा गरेँ।

उनी बिस्तारै म प्रति नरम हुँदै गईन्। उनका कुरा सुन्दै गएँ। उनका विगत अत्यासलाग्दा रहेछन्।

उनले पनि मलाई नढाँटि सबैकुरा क्रमशः भन्दैं गइन्। मैले सबैकुरा सुनिसकेपछि मलाई भ्लादिमीर नाबोकोवको मनोविश्लेषणात्मक  उपन्यास ‘लोलिता’ को याद आयो र उनलाई ‘लोली’ भनेर बोलाउन थालेँ।

उनको वास्तविक नामसँग मिल्ने भएकाले खुव मन पराईन्। वास्तवमा उनका ठूला माग केही थिएनन्। स-सना कुराहरू थिए र बढीभन्दा बढी सतर्क र माया खोजिरहन्थिन्। त्यो म आफैंले पुरा गरिदिन सक्थेँ। उनी बिस्तारै शान्त बन्दै गईन्।  उनलाई त्यहाँबाट निकाल्ने निर्णय पनि पेन्डिङमा राखियो।

उनले मलाई आफ्नै बहिनी जस्तो मायाँ गर्न थालिन्। एक पटक म दुईदिन काममा जान नसक्दा उनले सबैलाई तनाव दिन भ्याईसकिछन्। त्यसपछि मैले उनलाई पहिल्यै जानकारी गराएर म यतिदिन आउन सक्दिनँ ‘be nice with everyone’ भनेर हिँड्छु।

उनको तिखो बोली र कडा स्वभावले कहिल्यै उनलाई मायाँ गर्न नसके पनि मेरो अथाह आदर र सम्मान छ उनीसँग। 

उनी अफ्रिकन मुलकी अमेरिकन हुन्। राम्रै परिवारमा जन्मेहुर्केकी उनी हाई स्कुलमा पढ्दा पढ्दै कुलतमा फसिन्। पढाई पनि बिग्रीयो। स्टोरमा काम गर्न थालिन् र सानै उमेरमा छोरीकी आमा पनि बनिन्। उनको एक छोरी र दुई नातिनातिनी छन्। दिनमा एकपटक फोनमा कुरा गर्छिन्।

पाँच वर्ष अगाडि किड्नीले काम गर्न छोडेपछि उनी अस्पताल भर्ना भईन्। अस्पतालबाट सोझै सरकारी सेल्टरमा पुगिन्। सेल्टरबाट एजेण्टले राम्रो ठाउँमा लगिदिन्छु भनेर यहाँ आईपुगेकी रहिछन्।

कुलतले उनलाई शरीर बेच्न बाध्य बनायो। सुरूमा हजुरआमा, आमा बुवासँग बस्थिन्। उनी केटा साथीसँग आफ्नो कलकलाउँदो शरीर ड्रग्ससँग साट्न थालिन्।

अलि धनी केटाले शरीर दिएपछि एक खिल्ली गाँजा दिन्थे। कहिले नदिएर खोसेर एक दुई सर्को तानेर पनि चित्त बुझाउँथिन्।

समय बित्दै जाँदा उनी बसाई सर्दै गईन् र त्यो च्यानल छुट्यो। अनि ड्रग्स किन्ने पैसा जुटाउन शरीर बेच्न थालिन्। उनी  दिउँसो स्टोरमा काम गर्थिन् र प्राय: राति बारमा जाने र त्यहींबाट कोही ग्राहक पट्याएपछि सहमतिमा गन्तव्य निर्धारण गरेर जाने गर्थिन्। तर, किड्नी डायलिसिस गर्न थालेपछि भने राति बार जान गाह्रो हुने भएकाले उनी अहिले जहाँ बसेकी छन् त्यहीँका मानिसलाई आफ्ना रेगुलर ग्राहक बनाएको बताउँछिन्।

हुन पनि उनी बस्ने ठाउँमा बिहानैदेखि राति १० बजेसम्म मान्छे नै मान्छे हुन्छन्। एकान्त भन्ने ठाउँ नै छैन। जब अन्धकार हुन्छ अनि बाहिर सुनसान ठाउँमा कतै जानुपर्ने हुन्छ। सबै उनीजस्तै केही न केही शारीरिक समस्या भएर घरबारबिहिन भई जीवन घिसारीरहेका मानिसहरू छन्।

उनको आगमनले धेरै लोग्ने मानिसमा खुशी छाएको थियो। कमसेकम उनको खराब बानीलाई केही पैसा दिएर सपोर्ट गर्दा एकछिन् भए पनि उनको शरिरसँग खेलेर, छोएर मनोरञ्जन लिन पाईन्छ भन्ने सबैलाई थाहा रहेछ। त्यो बेला मलाई भने यो कुरा बुझ्न केही महिना लागेको थियो।

मलाई एक जनाले भनेका थिए, ‘यदि कसैको महँगो खालको कुलत छ भने उसको वरिपरिका मानिसले नै त्यो लतलाई सहयोग र समर्थन गरिरहेका हुन्छन्। नत्र पैसा कहाँबाट आउँछ? Give and take रिलेशनसिप हो।’

हप्तामा तीन दिन डायलिसिस गर्नु अनि ड्रग्सका लागि रकम जुटाउनु उनको रूटिन हो। दिनमा ४०/४५ डलर जुटाउनु निक्कै ठूलो चुनौतीको कुरा पनि थियो। उनका केही स्थायी ग्राहक पनि थिए। तर बिरामी भएर अस्पताल गइरहने हुनाले ती भरपर्दा थिएनन्। उनलाई सधैं नयाँ ग्राहक खोजेर रकम जुटाउनु अर्को चुनौती थियो।

गत वर्ष मैले उनलाई खराब लत सबै छोडेर जिन्दगीलाई एकपट राम्रोसँग नियाल्न कन्भीन्स गरेँ। ‘लोली, ड्र्ग्स र सेक्सलाई एकपटक आफूबाट टाढा राखेर हेर त! कति सुन्दर छ यो संसार। तिम्रो अझै जीवन कति सुन्दर छ। किन तिमी यी हेर्दै घिनलाग्दा मानिसलाई आफ्नो जीर्ण र रोगी शरीरलाई लुछ्न दिन्छ्यौ? तिमीलाई दुख्दैन। के तिमी उनीहरूलाई किस गर्न अंकमाल गर्न सक्छ्यौ?’ मैले सोधेँ।

‘म अलिकति नशा तानेर जान्छु। उनीहरूलाई घाँटीमाथि नछोउ अरू जे जे गर्ने हो गर भन्छु। म खाली अर्को खिल्लीको पैसाको बारेमा मात्रै सोचिरहन्छु,’ उनले धेरै समय अगाडि अरू यस्तै थुप्रै कुराहरू रूँदै शेयर गरेकी थिईन्।

मेरो आग्रहलाई मानेर २० दिनसम्म सबै लत छोडेर बसेकी थिईन्। तर म छुट्टिमा गएर फर्कँदा उनले फेरि शुरू गरिसकेकी रहिछिन्। ‘ड्रग्स र सेक्स बिनाका बीस दिन अति सुन्दर थिए। तर म अब साधु नै बने पनि मेरो पहिचान नराम्रै बनिसकेको रहेछ। मलाई मानिसले नराम्रो तरिकाले हेरिसकेका रहेछन्,’ उनले भनिन्।

लोली वास्वमै मैले अमेरिकामा देखेका राम्रा भनिने कसैका प्रेमिकाभन्दा हजारौं गुणा ईमान्दार थिईन्। कहिल्यै नढाट्ने र प्रष्ट स्वभावकी थिईन्। उनले कसैसँग लिएको सापटी पैसा समय अगाडि नै तिर्थिन्। भगवानको विश्वास गर्थिन्। दिनहुँ नुहाई धुवाई गरेर सफा लुगा लगाउने र मगमग आउने लोसन लगाउँथिन्। तर उनी एउटा साँचो प्रेमको खोजीमा थिईन्।

उनको ३० वर्ष अगाडि एक स्पेनिस मुलको मानिससँग प्रेम बसेको थियो। तर, दुई वर्षमा नै त्यो सम्बन्ध टुंगियो। उनी साँच्चिकै प्रेममा पर्न र चुर्लुम्म डुब्न चाहन्थिन् र अँगालोमा परेर प्रेमीको ढुकढुकी सुन्न चाहन्थिन्। प्रेमीको अर्को साईडमा बलिष्ठ पाखुरामा सुतेर मस्तसँग निदाउन चाहान्छिन् र मेरो पनि मायाँ गर्ने एउटा मानिस छ भनेर उनले चिनेका मानिसलाई खुलेआम भन्न चाहन्थिन्।

तर दुर्भाग्य! ‘लोली ईज नो मोर वीद मी’। मैले उनलाई बाई गर्न नै पाईनँ। उनीसँग त्यो रात सम्पर्कमा आएकाहरू पनि ‘नो मोर वीथ अस’। म अहिले पनि दिनमा तीन पटक तिम्रो कोठा खोलेर हेर्छु। मैले तिमीलाई मिस गरिरहेकी छु। तिमी बिना म एक्ली भएकी छु। सुनसान भएको छ। अब मलाई खाएको नखाएको कसले सोध्छ? मलाई एसियन ईन्डियन भनेर हेप्नेलाई कसले मुखभरिको जवाफ दिन्छ? कसैले कड्के नजरले हेर्‍यो भने मेरा लागि कसले बोल्दिन्छ? तिम्रा लत्ता कपडा जस्ताको तस्तै छन्। लोली, तिम्रो स्वर्गमा बास होस्।

प्रकाशित मिति: : 2020-04-23 21:35:00

प्रतिकृया दिनुहोस्