घर पुग्ने तनावले महाकालीमा हाम फाले भारतीय क्याम्पका नेपाली (भिडियाे)

ज्यानै उर्लदो महाकालीमा फाल हानेर घर आउन खोजेका दार्चुलाका गोपालसिंह धामी स्वदेश चुम्न नपाउदै फेरि भारतीयको  फेला परे। उनी नेपाल पुगेको भए पनि स्वदेशी सुरक्षाकर्मी उनकोे स्वागतमा तयार थिए छोपेर क्वारेन्टाइनमा राख्न। 

एक महिनादेखि दार्चुलाको ठिकपारि भारतको धार्चुलास्थित  मिनी स्टेडियममा बस्दै आएका धामीले बुधबार दिउँसो नदीमा हाम फालेपछि ठूलै हल्ला भयो। घर पुग्ने चाहनामा खतरनाक भेलमा हाम फालेका धामीसँंगै भारतीय सुरक्षाकर्मीले पनि नदीमा हाम फालेर उनलाई बचाउदै फेरि क्याम्पमै लगेर गए।

क्याम्पको कैदी जीवन बिताउँदा उनको मानसिक हालत पनि बिग्रदै गएको उनका समकक्षी नेपालीले बताएका छन्। उनी जसरी पनि घर पुग्न चाहन्थे तर एक महिनायता पनि जान नपाएपछि उनले महाकालीमा हाम फालेका हुन्।

मालिकार्जुन गाउँपालिकाका बासिन्दा धामीको भाग्यमा शरणार्थी जीवन बिताउँदै भारतीय क्याम्पमा बस्ने समय बाँकी नै थियो। क्याम्पमा धामी जस्तै कयौ युवा अहिले घर कसरी पुग्ने भन्ने मानसिक तनावमा छन्।

भारत धार्चुला बिभिन्न ५ क्याम्पमा १ हजार ५ नेपाली एक महिनादेखि शरणार्थी जीवन बाँच्न बाध्य पारिएका छन्। मजदुर वर्गका यी नेपालीको आवाज सुन्ने नेतृत्व कोरोना सन्त्रासबीच पनि सत्ताको जोड घटाउ र भ्रष्टाचारको बाटो खोज्नमा व्यस्त छ। 

आफूलाई कोरोना नभएको भन्दै नेपाल आउने दिन अनेकौ विन्ति गर्दा पनि केही नलागे पछि ज्यानै जोखिममा हाली महाकाली तरेर नेपाल पस्ने नेपालीको संख्या अहिलेसम्म ३ सय ३८ नाघिसकेको दार्चुला प्रशासनले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-30 07:12:00

प्रतिकृया दिनुहोस्