बाँकेको कोहलपुरमा राहत नपाएको भन्दै आन्दोलन (भिडियो)

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ लोकनगरका स्थानीयले लकडाउनमा भोकभोकै बस्नुपरेको भन्दै आन्दोलन गरेका छन्। 

उनीहरुले बुधबार बिहान १० बजे वडा नम्बर ११ को कार्यालयमा आएर नाराबाजी गर्नुका साथै आन्दोलनसमेत गरेका हुन्। लकडाउनको  समयमा प्रधानमन्त्रीले ‘कोही भोको पर्दैन कोही भोकले मर्देन’ भने पनि स्थानीय सरकारले राहत नै नदिएका कारण मर्ने अवस्था आएका कारण आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ।

वडा नम्बर ११ ले दुई चरणमा राहत वितरण गरेको थियो। तर लोकनगरका अधिकांश स्थानीयले राहत अहिलेसम्म पनि नपाएको गुनासो गरेका छन्। त्यहाँ करिब २ हजार घरधुरी छन्। लोकनगरमा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने थारू र दलित समुदाय बसोबास छ।

‘घरभित्र बस्न थालेको दुई महिना भइसक्यो। अझैसम्म राहत पाएका छैनौं। सरकार राहतको व्यवस्था गरेको छौ भन्छ खै कसका लागि हो। रोकले भन्दा भोकले मरिने अवस्था आएपछि आन्दोलन गरेका छौ,’ स्थानीय जैसरा रिजालले बताइन्।

उनका अनुसार मिडियामा सम्पूर्ण बस्तीमा राहत वितरण गरेको भने पनि आफूहरूले अझै नपाएको गुनासो गरिन्। उनी एकल महिला समेत हुन्।  उनीसहित करीब सय जनाभन्दा बढी स्थानीय त्यहाँका छन्। वडाले जसरी पनि राहत दिनुपर्ने उनीहरुको माग छ। यसैबिच कोहलपुर नगरपालिकाले १ करोडभन्दा बढीको राहत वितरण गरिसकेको जनाएको छ। तर स्थानीयले राहत नपाएको भन्दै विरोध गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-05-27 16:10:44

प्रतिकृया दिनुहोस्