एकै पटक १५६ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित १०४२ पुग्यो (भिडियो)

नेपालमा एकै दिन १ सय ५६ थप संक्रमित फेला परेका छन्। यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो। स्वास्थ्य मन्त्रालयले बिहिबार एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। देशका विभिन्न भागमा गरिएको परीक्षणबाट प्राप्त जानकारीका आधारमा यति संख्यामा संक्रमण थप भएको देखिएको हो।

यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। 

बुधबार मात्रै ११४ जना कोरोना संक्रमित थपिएका थिए।

कोशी अञ्चनल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन्। जसमा झापाका रहेका छन्। 

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन्।

काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्ये धनुषामा २९ जना र महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटका तीन जनामा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै सप्तरीका १२ जनामा पनि कोरोना देखिएको छ। सर्लाहीका ७ जना र सिराहाका ६ जनामा पनि कोरोना देखिएको छ। दोलखाका दुई जनामा पनि कोरोना देखिएको छ। सोलुखुम्बु र बझाङका एक-एकजनामा पनि कोरोना पुष्टि भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ। जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन्। त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ।

प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीन जनामा कोरोना देखिएको छ। सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका एक र कैलालीका दुई जनामा कोरोना देखिएको छ।

त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ।

यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ। जसमा पुरुष ९४० जना र महिला १०२ जना रहेका छन्।

मंगलबार ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतले रेल सेवा खुलाएर परीक्षण नै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र गतिमा बढेको हो। 

 

प्रकाशित मिति: : 2020-05-28 14:33:11

प्रतिकृया दिनुहोस्