अस्ट्रेलियामा सन् १९९१ यताकै सबैभन्दा ठूलो महामन्दी आउन सक्ने चेतावनी

बिएल संवाददाता

काठमाडाै‌ं

अस्ट्रेलियामा आर्थिक मन्दी सुरु भएको छ। अर्थशास्त्रका अनुसार लगातार दुई त्रैमासिकसम्म कुल गार्हस्थ उत्पादनमा लगातार गिरावट आएपछि आर्थिक मन्दी भएको मानिन्छ।

यो वर्ष सुरु भएदेखि मार्च ३१ सम्म अस्ट्रेलियाको कुल गार्हास्थ उत्पादनमा ०.३ प्रतिशतले कमी आएपछि सन् १९९१ यताकै सबैभन्दा ठूलो महामन्दी आउन सक्ने अष्ट्रेलियन तथ्यांक विभागले जनाएको छ।

सेप्टेम्बर १९९० देखि सेप्टेम्बर १९९१ सम्म को एक वर्षे आर्थिक मन्दी अष्ट्रेलियाको इतिहासमा ठूलो मन्दी मानिन्छ। जतिबेला कुल गार्हस्थ उत्पादन १.७ प्रतिशतले घटेको र बेरोजगारी १०.८ प्रतिशतले बढेको थियो।

गत वर्षको अन्तमा अष्ट्रेलियाका विभिन्न क्षेत्रमा देखिएको खडेरी, भीषण आगलागी र नयाँ वर्षको सुरु मै देखा परेको कोरोनाका कारण आर्थिक मन्दी सुरु भएको अष्ट्रेलियाका ट्रेजरर जोश फ्राइडेनबर्गले बताए।

प्राकृतिक प्रकोप तथा महामारी आउनुभन्दा पहिलेदेखि नै अष्ट्रेलियाको अर्थतन्त्रले गति लिन नसकेको उनले स्वीकार गरेका छन्। उनले आर्थिक मन्दी आउनुमा व्यवसाय ठप्प हुनु, उत्पादनमा कमी र सरकारको ऋण बढ्नु मुख्य जिम्मेवार भएको बताए।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका कारण मानिसले गर्ने खर्चहरुमा भारी मात्रामा कमी आएको छ। यसका साथै अत्यावश्यक वाहेकका अरु व्यवसाय तथा सेवाहरु बन्द भएपछि अष्ट्रेलियामा यो अप्रिल महिनामा मात्रै करिब ६ लाख जनाले रोजगारी गुमाएका थिए।

प्रकाशित मिति: : 2020-06-04 06:56:52

प्रतिकृया दिनुहोस्