अमेरिकी ‘वर्ड–अफ–माउथ’: हात्तीबाट ‘गधा’ हुँदैछ अमेरिका

अमेरिकी राष्ट्रपति ट्रम्पका लागि एकपछि अर्को खराब समाचार आइरहेका छन्। पछिल्ला जनमत सर्भेक्षण उनी १४ अंकसम्मले पछि पर्न थालेका छन्। राता राज्य नीला हुँदैछन्, स्विङ राज्यको पल्ला उनको विपक्षमा भारी हुँदैछ। 

यतिबेलै रिपब्लिकन पार्टीका केही हस्तीले उनको विपक्षमा मतदान गर्ने घोषणा गरेर ट्रम्पलाई थप अप्ठ्यारो पारिदिएका छन्। यस्तो घोषणा गर्नेमा एक मात्र जिवीत रिपब्लिकन राष्ट्रपति जर्ज बुस, २००८ का रिपब्लिकन राष्ट्रपति उम्मेद्वार तथा वर्तमान सिनेटर मिट रम्नी, रिपब्लिकन विदेशमन्त्री रहिसकेका कोलिन पावेललगायत रहेका छन्। 

रिपब्लिकन पार्टीका यी 'टावर पर्सनालिटी' को ट्रम्पलाई मत नदिने घोषणाले रिपब्लिकन मतदातामाझ नकरात्मक सन्देश गएको छ। उनीहरूले ट्रम्पलाई मत दिनुनपर्ने कारण पनि गम्भीर प्रकृतिका औल्याएका छन्। पूर्वराष्ट्रपति जर्ज बुसले राष्ट्रपति ट्रम्पले रिपब्लिकन मूल्य, मान्यतामाथि नै आघात पार्ने काम गरेको आरोप लगाउँदै रिपब्लिकन मतदाताले एकपटक हार्ने कि सधैं हार्ने फैसला गर्नुपर्ने बताएका छन्। उनले ट्रम्पले जिते भने रिपब्लिकन पार्टीलाई फेरि जित्नै नसक्ने अवस्थामा पुर्याउन सक्ने चेतावनी पनि दिएका छन्। 

पूर्वराष्ट्रपति बुसको यो सन्देशको असर उनको गृहराज्य टेक्सासमा त पर्छ नै, अन्य उदार तथा मध्यमार्गी रिपब्लिकन निर्णायक शक्तिका रूपमा रहेका राज्यमा पनि पर्छ। त्यसैको परिणाम पछिल्ला जनमत सर्भेक्षणले टेक्सासमा ट्रम्प र बाइडन हाराहारी स्थितिमा देखिएका छन्।यसको असर आउँदा दिनमा अरू फैलिने भएकाले टेक्सास पनि यसपटक ट्रम्प हराउन नीलो हुने सम्भावना बढ्दो छ। यदि त्यसो भयो भने टेक्सासको ३६ इलेक्ट्रल कलेज भोट नै ट्रम्पलाई एक कार्यकालमा सिमीत बनाउँन पर्याप्त हुने देखिन्छ। यसको असर रातो राज्य अर्कान्सासमा पनि परेको देखिन्छ। सबैखाले जनमत सर्भेक्षणमा यहाँ ट्रम्पलाई बाइडनले उछिनेका छन्। 

यसैगरी सन् २००८ का रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेद्वार तथा उटाहका वर्तमान सिनेट मिट रोम्नीले पनि ट्रम्पलाई मत नदिने घोषणा गरे । उनले ट्रम्पले जित्दा अमेरिका र अमेरिकी जनता हार्ने भएकाले आफू पार्टीभन्दा माथि उठेर देश र जनताका लागि उनको विपक्षमा मतदान गर्ने बताए। एक रिपब्लिकन भएकाले यो कठिन निर्णय भए पनि अमेरिकाका लागि यो निर्णय अपरिहार्य भएको उनले बताए। उनले ट्रम्पले रिपब्लिकन मूल्य, मान्यता र सिद्धान्तको दोहन गरेको आरोप लगाउँदै त्यसको विरूद्ध रिपब्लिकन नै उठ्नुपर्ने आग्रह पनि गरे। 

यसैगरी रिपब्लिकन विदेशमन्त्री रहिसकेका कोलिन पावेलले त अझ एक कदम अगाडि बढेर जो बाइडनलाई मत दिने घोषणै गरे। उनले राष्ट्रपति ट्रम्प 'ढँटुवा' भएको गम्भीर आरोप लगाउँदै यस्तो व्यक्ति राष्ट्रपति हुँदा अमेरिका गौरवशाली देश हुन नसक्ने बताएका छन्। उनले रिपब्लिकन सिनेटर, सांसद र मतदातालाई ट्रम्पलाई हराएर मात्र रिपब्लिकन पार्टी बँच्ने भएकाले त्यसतिर गम्भीर भएर ध्यान दिन आग्रह नै गरे।

एकातिर रिपब्लिकन पार्टीमा ध्रुवीकरण आएको छ भने अर्कातिर डेमोक्रेट भने ट्रम्पलाई हराउनैपर्ने एकसूत्रीय एजेण्डामा गोलबद्ध भएका छन्। डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सनसम्म आफ्ना डेलिगेट सुरक्षित राख्ने बताए पनि बर्नीले बाइडनको समर्थन गरिसकेका छन्। अन्य प्रतिस्पर्धीले त त्यो विकल्प पनि छोडेर एकतर्फी रूपमा बाइडनको पक्षपोषण गर्दै उम्मेद्वारी त्यागिसके। 

केही समयअघिसम्म अमेरिकी 'वर्ड-अफ-माउथ' थियो, 'जे भने पनि ट्रम्पले नै जित्छन्'। अहिले अमेरिकाको 'वर्ड-अफ-माउथ'को टोन बददिएको छ, 'खै यसरी त कसरी जित्लान् र '? समयक्रमसँगै यो टोनमा पनि अरू फरक आएर 'वर्ड-अफ-माउथ' हुनेछ,  'ट्रम्पले जित्दैनन्'। हार्दा उनी अरूसँग हैन, आफ्नै सनक, रिस, आक्रोश, एकलकाँटे प्रवृति, गलत शासन शैलीसँग हार्ने हुन्। उनी हार्दा अर्काले जित्ने हो, त्यो पात्रको नाम जो बाइडन हुने हो। एजेण्डा त डेमोक्रेट्ससँग पनि कहाँ बाँकि छन् र ?

राष्ट्रपति ट्रम्प यसपटक बलियो अर्थतन्त्र र रोजगारीका नाममा चुनाव लड्ने योजनामा थिए। उनको त्यो सपना कोरोना कहरले चकनाचुर पारिदियो। अमेरिकामा कोरोनाले यति ठूलो वितण्डा मच्चाउनमा ट्रम्पको नीति नै जिम्मेवार रहेको ढिलै भए पनि बहुमत अमेरिकी जनताले बुझे । त्यसपछि उनले कोरोनाका लागि चीनलाई जिम्मेवार ठहर्याउँदै चीन विरोधी एजेण्डामा चुनाव लड्ने योजना बनाउँन थाले। यही बेला जर्ज फ्लोइडको हत्याले अमेरिकामा ब्ल्याक लाइभ्स म्याटरको आँधी ल्याइदियो। यो मुद्दालाई ट्रम्पले गलत किसिमले सम्बोधन गरे। अहिले उनी यसैको मारमा परेका छन् र सम्भवत: यही एजेण्डा अब चुनावसम्म रहँदा उनको दोस्रो कार्यकाल आकाशको फल आँदा तरी मर हुने छ। 

ट्रम्पलाई हराउन अरू कोही आउनै पर्दैन, उनी आफ्नै गलत कार्यसँग हार्छन्- सुरूदेखि नै यो पंक्तिकार यही मान्यतामा विश्वास राख्दै आएको हो। उनको शासन शैली एकदिन अमेरिका र अमेरिकी जनताका लागि घाँडो हुनु नै थियो, भयो। उनी आफ्नै कर्मले अमेरिकाका लागि राष्ट्रपति हुन अनफिट हुनेछन् र दोस्रो कार्यकालका लागि अरूसँग हैन, आफैंसँग हार्नेछन्। उनी हार्दा बाइडनले जित्ने हुन् यद्यपि उनी पनि जीतका लागि उम्दा उम्मेद्वारचाँहि हैनन्। 

यसपटक खासगरी श्वेत रिपब्लिकन मतदाताका लागि ट्रम्प र बाइडनमध्ये एक छान्न खासै गाह्रो छैन। दुबै श्वेतपुरूष हुन्, विचारका हिसाबले पनि बाइडन उदारपन्थी रिपब्लिकन कित्ताका नजिक छन्। यसअघि २०१६ मा दुबै उम्मेद्वारको अनुहारको रंग सेतो भए पनि हिलारी महिला थिइन्, ट्रम्प पुरूष । हरेक कोणबाट 'भेट्रन' जिन्दाबाद भएको अमेरिका एकजना महिलालाई अमेरिकी सर्वोच्च कमाण्डर मान्न तैयार थिएन। समाजशाश्त्रीय दृष्टिकोणले हेर्दा अमेरिकामा अहिले पनि खास खास क्षेत्रमा लिंगीय विभेद छ, ह्वाइट हाउसका लागि त नहुने कुरै भएन। तपसिलका अरू कारण भनिए पनि २०१६ मा ट्रम्प जित्नुको मूलकारण यही थियो।

यसपटक स्याण्डर्सका प्रगतिशील समर्थकले पनि सन् २०१६ मा जस्तो ट्रम्पलाई मत हाल्ने गल्ती गरेर मिचिगन र पेन्सेल्भेनिया ट्रम्पलाई बुझाउदैनन्। न बाइडेनले स्याण्डर्सका प्रगतिशील समर्थकलाई हिलारीको जस्तो छिछी र दूरदूर गर्ने महागल्ती नै गर्नेछन्। श्वेत अमेरिकीले पनि बुझ्नेछन् कि सबै सेतो छालासँग अमेरिकी 'चरित्र' नै हुन्छ भन्ने हुदैन। अश्वेत मतदाताले त झन के बुझेका छन् भने चार वर्षमा अरू सबै दिन 'ब्ल्याक लाइभ्स म्याटर'  भनेर केही नहुने रहेछ, हरेक चार वर्षमा आउँने नोभेम्बरको पहिलो मंगलबार नै 'एभ्री लाइभ्स म्याटर' भैसकेको हुने रहेछ।

२०१६ को चुनावले धेरैलाई पाठ सिकाएको छ- अमेरिकामा २७० को कति ठूलो अर्थ छ?

प्रकाशित मिति: : 2020-06-09 06:15:50

प्रतिकृया दिनुहोस्