अमेरिकामा फिक्का छ जुलाई ४ : अहिलेलाई यस्तै भयो, अर्को वर्ष मनाऔंला 

अमेरिका आफ्नो स्वतन्त्रता दिवश जुलाई फोर्थको पूर्वसन्ध्यामा छ। सन् १७७६ को यही दिन स्वतन्त्र भएको अमेरिका त्यसयता हरेक वर्ष जमेर उत्सव मनाउँदै आएको छ। 

तर, यसपटक अमेरिकामा कुनै उत्साह छैन। न जमेर मनाउनुपर्ने माहौल छ न कारण। कोरोना कहरबाट बच्नका लागि जमघट निरूत्साहित छ, मास्क लगाएर जानुपर्छ। सामाजिक दूरी कायम राख्नु पनि छँदैछ। न खुलेर अंगालो हाल्न पाइन्छ, न गालामा चुम्माचुम्मी नै। कुहिनो ठटाएर कति रमाइलो गर्न सकिन्छ र? दिक्दार भैसके अमेरिकी जनता, आजित छन् उनीहरू।

यही वीचमा अमेरिका रंगभेदको 'शीतयुद्ध'मा फसेको छ। सेता पुलिसले काला सर्वसाधारण मारेपछि सुरू भएको यो 'शीतयुद्ध'मा चाहरे नचाहेर सबै होमिएका छन्। रङ्गको आधारमा एकअर्काप्रति अविश्वास मात्र हैन, घृणा पनि छ। यसअघि नै मंगोलियन मूलका एसियनलाई त कोरोना भाइरस भन्दै घृणाको पात्र बनाइको थियो। 

अहिले अमेरिकामा सिधा हानाहान नै त छैन तर कुनै पनि बेला केही हुने स्थिति छ। ब्लाक लाइभ्स म्याटर विरोध प्रदर्शनको चरण सकेर रंगभेदी गोराहरूका शालिक तोड्ने चरणमा प्रवेश गरेको छ। झण्डा र नाम फेर्ने अभियानले पनि तुल पक्डेको छ। अहिले सिटी, काउन्टी र राज्य सरकार शालिक कसरी जोगाउने या सुरक्षित किसिमले उठाएर कतै स्टोर गर्ने भन्ने चिन्तामा छन्। 

अमेरिकामा यतिबेला प्रहरीप्रति चरण घृणा छ। कतिपय ठाउँमा प्रहरी बिनाको सहरको कल्पना गर्दै वहस पैरवी भैरहेको छ। प्रहरीको बजेट कटौती अभियान अमेरिकाभरि चलेको छ। प्रहरीको मनोबल कमजोर छ। यसैको फाइदा उठाएर बन्दुकेहरू लुटपाट, हत्या आतंक मच्चाइरहेका छन्। केही सहरमा त गोरा प्रहरीले सामुहिक राजीनामा पनि दिएका छन्।

आप्रवासीको देश भनिने अमेरिकामा अहिले सेता छाला नभएका आप्रवासीको दोहोलो काढ्ने नीति अख्तियार गरिएको छ। यसको नेतृत्व राष्ट्रपति ट्रम्पले लिएका छन्। उनी विधानले हैन, आदेशले शासन गरिरहेका छन्। उनका हरेक आदेश आप्रवासीमैत्री छैनन्। उनले बहुलरंग भएको अमेरिकालाई रातो अमेरिका बनाउन खोज्दा अमेरिकाको मूल चरित्रमाथि नै प्रश्न चिन्ह लागेको छ। 

पद्धतिका लागि अमेरिका संसारभर प्रसिद्ध थियो । त्यसैका लागि संसारभरका मानिस यहाँ आउन मन पराउथे। तर, अहिले अमेरिकामा यो वा त्यो वहानामा पद्धति खतम गर्ने अभियान चलाइएको छ। यसका लागि 'सेतोघरे'देखि 'गोलघरे'सम्म- जहाँ जस्ले जति सकेका छन्, गरेकै छन्। 

अहिले अमेरिकामा सजिलो छ, जे लाई पनि आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको अंकगणितसँग मिलाए भैहालेको छ। हरेक क्षेत्र अति राजनीतिकरणको शिकार हुँदा पहिलेको अमेरिका अहिले अर्कै अमेरिका भैसकेको छ। स्वयं अमेरिकीहरू नै भन्छन्, यो अमेरिका हैन, ट्रमेरिका हो। यहाँ के हुन्छ भन्दा पनि के हुदैन भन्ने खालको पाराडाइम सिफ्ट गरिएको छ। 

आप्रवासीको देश भनिने अमेरिकामा अहिले सेता छाला नभएका आप्रवासीको दोहोलो काढ्ने नीति अख्तियार गरिएको छ। यसको नेतृत्व राष्ट्रपति ट्रम्पले लिएका छन्। उनी विधानले हैन, आदेशले शासन गरिरहेका छन्। उनका हरेक आदेश आप्रवासीमैत्री छैनन्। उनले बहुलरंग भएको अमेरिकालाई रातो अमेरिका बनाउन खोज्दा अमेरिकाको मूल चरित्रमाथि नै प्रश्न चिन्ह लागेको छ। 

यसैबीच अमेरिका फस्ट भनेर राष्ट्रपति ट्रम्प अमेरिकालाई संसारको नेतृत्वदायी भूमिकाबाट बाहिर ल्याउन लागिपरेका छन्। संयुक्त राष्ट्र संघसँग जुहारी खेल्दै उनले युनिसेफ, डब्लुएचओ, डब्लुटीओ, मानव अधिधकार आयोगजस्ता विश्व संस्था र निकायबाट अमेरिकालाई बाहिर निकालिसकेका छन्। अब अमेेरिका पहिलेको जस्तो अमेरिका रहेन, ट्रमेरिकामा बदलियो। उनले हेरक कुरामा नाफा हेर्छन् र नाफा हुने भयो भने मात्र त्यसमा अमेरिकालाई साझेदार बनाउने नीति अख्तियार गरेका छन्। 

हुँदाहुँदा परिस्थिति यस्तो आयो कि अब ट्रम्पलाई अमेरिकाले अरू चार वर्ष थेग्नै नसक्ने भयो । दोस्रो कार्यकालका लागि उनी चुनिए भने उनले अमेरिकालाई के बनाउँछन् भन्दा पनि के बनाउँदैनन् भन्ने स्थिति छ। उनको तानाशाही चरित्र र शासन शैलीलाई लगाम लगाउन उनकै पार्टी रिपब्लिकनका जिम्मेवार नेतासमेत लागेका छन्।एक मात्र जिवीत रिपब्लिकन राष्ट्रपति जर्ज बुश खुलेरै उनको विरोधमा उत्रेका छन्। उनको प्रशासनमा काम गरेका सयौै अगुवा रिपब्लिकनहरू ट्रम्प हराउने अभियानमा खुलेरै लागिसकेका छन्। 

अमेरिका यस्तो अवस्थामा पुगेको छ कि स्वयं अमेरिकीहरूले आफ्नो देशको चरित्र र भूमिकामाथि प्रश्न उठाउन थालिसकेका छन् । न भूत न भविष्यको अवस्थामा रहेको अमेरिकामा यस वर्षको जुलाई ४ को कुनै रौनक छैन। व्यक्तिगत रूपमा केही पटका पड्केका छन्, केही आतिसबाजी भएका छन्। त्यसले जुलाई ४ आएछ भन्ने सानो छनक दिनेभन्दा उपल्लो काम केही गरेको छैन। त्यतिकै भरमा यो वर्षको जुलाई ४ विदा हुने संकेत देखिएको छ।

भनाइ नै छ, सबै समयको कुरा हो। तीन दिनयता लगातार ५० हजारभन्दा माथि अमेरिकी कोरोनाले सोतर भैरहेको यो समय अमेरिकाका लागि समेत प्रिय छैन। यो अप्रिय समयमा आएको जुलाई ४ का दिन धेरै अमेरिकी भन्दैछन्, 'अहिलेलाई यस्तै भयो। अर्को वर्षको जुलाई ४ मनाऔला।'  

प्रकाशित मिति: : 2020-07-04 10:05:26

प्रतिकृया दिनुहोस्