बढ्दो सुरक्षा खतराका बीच अमेरिकाले पुनः परमाणु बम निर्माण गर्ने

अमेरिका फेरि परमाणु बम निर्माणमा सक्रिय हुने भएको छ। लामो समयदेखि परमाणु बम निर्माणमा निस्क्रिय अमेरिकाले आउँदो १० वर्षभित्र हतियार निर्माणमा मात्र करिब १२ हजार करोड रुपैयाँ खर्च गर्ने प्रस्ताव प्रस्तुत गरेको छ। 

यो प्रोजेक्ट दक्षिण क्यारोलिनास्थित सवाना नदी क्षेत्रमा रहेको एउटा फ्याक्ट्री तथा न्यु मेक्सिकोको लस एलमोसमा सञ्चालन हुने अमेरिकी समाचार संस्थाहरूले बताएका छन्। 

अमेरिका र रुसबीच शीत युद्धको बेला सवाना नदी क्षेत्रमा रहेको फ्याक्ट्रीमा अमेरिकी परमाणु हतियारका लागि ट्रिटियम र प्लुटोनियमको उत्पादन हुने गथ्र्यो। २ लाख एकड क्षेत्रफलमा फैलिएको यो फ्याक्ट्रीमा हजारौं मानिस काम गर्थे। 

अहिले यो स्थानमा ३ करोड ७० लाख ग्यालेन रेडियोएक्टिभ तरल पदार्थ जम्मा भइसकेको छ। ३० वर्षपछि फेरि यहाँ परमाणु हतियार निर्माण गर्ने बताइएको छ। 

अमेरिकी संस्था ‘द नेशनल न्यूक्लियर सेक्युरिटी एडमिनिस्ट्रेशन (एनएनएसए), जुन अमेरिकाको उर्जा विभागकै एउटा अंक हो, उसले यहाँ परमाणु हतियार बनाउने गथ्र्यो भनेको छ, ‘हाल भएका परमाणु हतियार निकै पुरानो भइसकेका छन्। त्यसमा परिवर्तनको आवश्यकता छ। नयाँ प्रविधि पहिले भन्दा थप सुरक्षित छन्।’

सरकारको सम्भावित सक्रियतालाई लिएर स्थानीय मानिस भने डराएका छन्। उनीहरूले फ्याक्ट्रि सुरु हुँदा मानिसहरू रेडिएशनको सम्भावित जोखिममा पर्ने कुराप्रति असन्तोष व्यक्त गरेका छन्। 

ओबामा सरकारको पालामा अमेरिकी कांग्रेस र राष्ट्रपति ओबामा स्वयमले यहाँ परमाणु हतियार निर्माणका लागि सहमति जनाएका थिए। ट्रम्पले पनि सन् २०१८ मा राष्ट्रपति बनेर आएपछि ओबामा सरकारको यो योजनालाई स्विकृति दिएका थिए।

 जसअनुसार हरेक बर्ष ८० नयाँ खाल्डो खन्ने कार्यमा सहमति बनेको थियो। योजना अनुसार ५० वटा खाल्डो दक्षिण क्यारोलिना र ३० न्यु मेक्सिकोमा तयार पारिने छ। यहाँ प्लुटोनियमलाई फुटबलको आकारमा झैं गोलो बनाइने छ। जसले परमाणु हतियारमा ट्रिगरको काम गर्छ। 

विश्व सुरक्षा विशेषज्ञ स्टिफन यङले भने अमेरिकाको यो योजनालाई खर्चिलो मात्र नभएर खतरनाक पनि भनेका छन्। फ्याक्ट्री नजिकै बसोबास गर्ने ७० वर्षीय पिट लाबर्जका अनुसार उर्जा संस्थाले आधुनिक प्रविधिलाई जति नै सुरक्षित बताए पनि यसको कुनै प्रमाण नभएको हुनाले खतरा बढ्ने दावी गरेका छन्। 

विरोधका बीच पनि अमेरिकाले राष्ट्रिय सुरक्षामा सम्भावित खतराका कारण यो कार्यलाई रोक्ने छैन। स्टोकहोम अन्तर्राष्ट्रिय पीस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिकासँग ७ हजार ५ सय ५० परमाणु हतियार छन्। 

उसले १ हजार ७ सय ५० परमाणु बमलाई मिसाइल तथा बमवर्षक विमानमा तयारी अवस्थामा राखेको छ। यसमा १ सय ५० परमाणु बम युरोपमा तयारी अवस्थामा राखिएको छ, रुसलाई निगरानी गर्न। रुससँग ६ हजार ३ सय ७५ र चीनसँग ३ सय २० परमाणु हतियार भएको दावी गरिएको छ।

प्रकाशित मिति: : 2020-07-10 08:04:23

प्रतिकृया दिनुहोस्