बाढी तथा डुबानले दोस्रो दिनपनि मध्य तराइकाे जनजीवन प्रभावित

फाइल तस्वीर

अविरल बर्षासँगैको बाढी तथा डुबानले मध्य तराइको बारा, पर्सा र रौतहटको जनजीवन आज दोस्रो दिनपनि प्रभावित भएको छ। 

रौतहटको लालबकैया नदिछेउको बाटो बगाउँदा दर्जनौ गाउँको आवागमन ठप्प भएको छ। पछिल्लो दुईदिन देखिको अविरल बर्षाको कारण रौतहट जिल्लाको अधिकांश भाग डुबानमा परेको छ भने ग्रामीण भेगको बाटो हिलाम्य हुँदा आवागमनमा अवरुद्ध भएकोे हाे।

लालबकैया नदिमा आएको बाढीले कटहरिया नगरपालिका ४ गमहरिया घाटमा रहेको पुलको पूर्वपट्टिको बाटो बगाएको छ। 

कल्भर्ट निर्माणका लागि ठेकदारले बनाएको बैकल्पिक बाटो बगेपछि सो क्षेत्रका एकदर्जन गाउँको मानिसलाई वारिपारी गर्न ठूलो समस्या भएको छ। 

सर्लाहीदेखि रौतहटको दर्जन बढी गाउँका मानिस कलैया वीरगञ्ज जानआउन सोही बाटो प्रयोग गरिदै आइएकाे थियाे। तर गएराति परेको पानीले बाटो बगारेपछि आज बिहानदेखि आवागमन अवरुद्ध भएको छ। गमहरिया घाटको बाटो अवरुद्ध हुंँदा अब कलैया वीरगञ्ज आउनजान १५ किलोमिटर घुमाउरो बाटो भएर जानुपर्ने बध्यता रहेको छ।

त्यसैगरी बागमती नदिमा पानीको सतह बढेपनि अहिले खतराको अवस्था नरहेको ईलाका प्रहरी कार्यालय समनपुरले जनाएको छ। मौसम पूर्वानुमान महाशाखा र नियमनकारी निकायले अविरल वर्षा सँगै रौतहटको सबै नदिमा बाढी आउने पूर्वजानकारी दिएपछि स्थानीय प्रशासनले जिल्ला बासीलाई सचेत रहन आग्रह गरेको छ। बाढी तथा डुबानको समस्या आउनु पूर्व नै स्थानीय प्रशासनले विभिन्न तयारी समेत गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले डुबान बाट जनतालाई बचाउन ३ वटा मोटर बोट,प्लास्टिकको बोट काठको डुङ्गाका साथै नेपाल प्रहरी सशस्त्र प्रहरी नेपालिसेनाका गरि १ सय प्रशिक्षित जवान २४ औं घण्टा तयार रहेको बताए।

त्यसैगरि बागमती र लालबकैया नदिको अवस्था निगरानी गर्न नदी नियन्त्रण कार्यालयका २ जना इन्जिनियर २४ घण्टा तयार रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। 

जिल्लामा आकस्मिक अवस्थासँग जुध्न कमान्ड पोष्ट खडागरी सबै सुरक्षा निकायका प्रमुखहरु पूर्णतयारीमा रहेको उनले जानकारी दिए।

यसैगरी बाराको भवरी नदीमा आएको बाढीले कलैया उपमहानगरपालिका वडा नम्बर २३ नैकाटोला बैराटपुरमा १० विगाहा भन्दा बढी जग्गा कटान गरेको स्थानिय सलिम अन्सारीले जानकारी दिए।

बर्षाको कारण वीरगञ्जको आदर्शनगर, विर्ता चोक, जेलरोड, रानीघाट लगायतका स्थान डुबानमा परेको छ। वीरगञ्ज नगर क्षेत्रका झण्डै १ सय भन्दा बढी घरमा बाढीको पानी पस्दा जनजीवन प्रभावित भएको छ। 

प्रकाशित मिति: : 2020-07-11 17:13:36

प्रतिकृया दिनुहोस्