नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशी लगानी भित्र्याउन आग्रह

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। 

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन्।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षमा ढुक्क रहन आग्रह गरे।

राजदूत आफ्नो साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदै छिन्।

भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारका लागि कोशेढुंगाको संज्ञा दिए।

नेपाल र बंगलादेशबीच २०७५ साल भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।

त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को-अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

मन्त्री पुनले राजदूत साम्सको कार्यकालमा द्विपक्षीय कूटनीतिक र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी भएको भन्दै प्रशंसा गरे।

जवाफमा राजदूत साम्सले नेपाल-बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निणर्यक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गरिन्।

राजदूत साम्सले कोभिड-१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति ब्यहोर्नुपरेको भन्दै आर्थिक-सामाजिक चुनौतीको मिलेर सामना गर्नुपर्ने उल्लेख गरिन्।

कोभिड-१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमणहरु महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने जानकारी राजदूत साम्सले दिइन्।

यस्तै राजदूत साम्सीले मन्त्री पुनलाई कोभिड-१९ महामारी अन्त्यलगत्तै बंगलादेश भ्रमणको निम्तासमेत दिइन्। मन्त्री पुनले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र समकक्षी (ऊर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिए।

मन्त्री पुनले कार्यकाल सकाएर फर्किए पनि भ्रमणका लागि नेपाल आउन आग्रह गरेका थिए। जवाफमा राजदूत साम्सीले नेपाल आफ्नो दोश्रो घर भएकाले आइरहने जवाफ दिइन्। नेपालका धेरै रमणीय स्थान घुमेको स्मरण गर्दै उनले सगरमाथा आधार शिविर, मुस्ताङ र लुक्ला जाने चाहना पूरा नभएकाले अर्कोपटक आउने जानकारी दिइन्।

प्रकाशित मिति: : 2020-07-23 17:56:55

प्रतिकृया दिनुहोस्