पर्यटन प्रवर्धनका लागि आँबुखैरेनीमा रिसोर्ट निर्माण

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ पृथ्वीराजमार्ग नजिकै बगुवामा करीव ६ करोडको लगानीमा रिसोर्ट निर्माण गरिएको छ। 

आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले श्रीकुमार थापा मगरको एकल लगानीमा रोयल होम रिसोर्ट प्रालि निर्माण भएको हो। जिल्लाको छिम्केश्वरी माई मन्दिर र छिमेकी जिल्ला गोरखाको मनकामना माई मन्दिरमा घुम्न जाने पर्यटकलाई मध्यनजर गर्दै रिर्सोट निर्माण गरिएको बताइएको छ । 

सात रोपनीमध्ये छ रोपनीमा विभिन्न किसिमका भौतिक संरचना र एक रोपनीमा सवारी पार्किङस्थल निर्माण गरिएको रिसोर्ट सञ्चालक थापा मगरले बताए। तीन करोड ५० लाख मूल्य बराबरको जग्गामा करिब  दुई करोड ५० लाखको लागतमा भवन निर्माण गरिएको उनले बताए।

‘आँबुखैरेनी क्षेत्रमा पर्यटकका लागि राम्रो होटल तथा रिसोर्ट नहुँदा समस्या हुने गरेको थियो’, उनले भने, ‘रिसोर्ट निर्माण पश्चात यहाँको पर्यटकीय क्षेत्रमा थप सहयोग पुग्ने विश्वास लिएको छु।’

उक्त भवनमा १६ कोठा रहेको र करिब ३२ जना बस्न सक्ने क्षमताको रिसोर्ट निर्माण गरिएको उनले जानकारी दिए। कोभिड–१९ का कारण बन्दाबन्दीले निर्माण कार्य प्रभावित भएकाले आउँदो फागुनदेखि सञ्चालनमा ल्याउने योजना रहेको छ। 

आँबुखैरेनी बजारमा एक दशकदेखि श्री लक्ष्मी ग्रील उद्योग सञ्चालन गर्दै आएका मगरले छिम्केश्वरी अस्पताल र सहकारी संस्थामासमेत  शेयर लगानी गरेका छन्।

स्वीमिङ पुल 

रिसोर्ट नजिकै स्वीमिङ पुल निर्माण गरिएको छ। करिब तीन हजार ८०० स्क्वायर क्षेत्रफलमा ८० लाख खर्च गरी स्वीमिङ पुल निर्माण गरिएको हो । उक्त स्वीमिङ पुलमा एकै पटकमा २०० जनाले स्वीमिङ गर्न सक्ने क्षमता रहेको उनले बताए। मूलको चिसो पानी भएकै स्थानमा स्वीमिङ पुल निर्माण गरिएकोले स्वीमिङ पर्यटकका लागि आर्कषण हुने उनको विश्वास छ। रासस

प्रकाशित मिति: : 2020-07-23 22:53:46

प्रतिकृया दिनुहोस्