नेपाल प्रवेशद्वारमा सांसद यादवद्वारा राष्ट्रिय ध्वजासहितको फ्ल्याग टावर स्थापना 

सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटको दक्षिणतर्फ मुख्य सडकमै स्थापना गरिएको नेपालको राष्ट्रिय ध्वजासहित फ्ल्याग टावरको उद्घाटन गरेका छन्। 

प्रतिनिधिसभा सदस्य यादवको संसदीय बिकास कोषबाट निर्माण गरिएको सय फिट उचाई भएको टावरमा स्थापना गरिएको ३० फिट लामो सो  टावरको आज एक कार्यक्रमकाबीच उनले उद्घाटन गरेका हुन्। 

भारत-नेपाल जोडने मुख्य प्रवेशद्वारको रूपमा रहेको उक्त गेट प्रवेश विन्दुमा आफनो देशको झण्डा स्थापना गरेर गर्वको अनुभुति भएको सांसद यादवले बताए। 

खुल्ला सिमाका कारण रक्शौल र वीरगञ्जलाई छुटयाउन नसकेर नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिकहरुलाई आफु नेपाल देशमा प्रवेश गरेको शुचकको रुपमा यसले मुख्य भुमिका निभाउने उनको भनाइ छ। 

 मधेश, मधेशी र अधिकारको लागी विगतमा भएको मधेश आन्दोलनलाई केहि तत्वहरुले राष्ट्रीयतासंग जोडेर जनतामा शंका उत्पन्न गराउनेलाई  राष्ट्रीय ध्वज निर्माण गरेर चुनौती दिएको उनले बताए। 

'भारत तथा अन्य तेस्रो मुलुकबाट आउने आगन्तुकहरु नेपाल प्रवेश गर्ने वितिकै फरफराई रहेको झण्डा देखेर नेपाल प्रवेश गरेको अनुभुति गराउने उद्देश्यले सो राष्ट्रीय ध्वज सहितको फ्लेग टावर उद्घाटन गरेका हौं' उनले भने। 

सांसद यादवको संसदीय पुर्वाधार विकास कोषबाट १० लाख र आफ्नो तलब भताको रकमबाट ३ लाख ६२ हजार रूपैयाँको सहयोगमा उक्त टावर निर्माण गरिएको उनले बताए। 

प्रकाशित मिति: : 2020-07-24 22:35:19

प्रतिकृया दिनुहोस्