मनकामना केबलकारका कर्मचारीलाई राहत, कम्पनीले लकडाउनको चार महिनाको तलब पनि सतप्रतिशत दिने

कोभिडका कारण चार महिनादेखि बन्द रहेको मनकामना केबलकारले आफ्ना कर्मचारीलाई लकडाउन अवधिको पूरै तलब दिने भएको छ।

कतिपय ठूला उद्योग व्यवसायहरुले कोभिड–१९ प्रभावले व्यापार व्यवसाय ठप्प रहेको अवधिको तलब पूरै दिन नसक्ने बताइरहँदा मनकामना केबलकारले भने लकडाउनको चार महिनाकै तलब शतप्रतिशत दिने भएको हो ।

हालको विषम परिस्थिति र कर्मचारीको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै कम्पनीले सामान्य अवस्थामा आएपछि पुनः हिसाबमिलान गर्ने गरी चार महिनाको सतप्रतिशत तलब दिने निर्णय गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए।

यसअघि कम्पनीले कर्मचारीहरुलाई चैत महिनामा कुल तलबको ५० प्रतिशत र वैशाख, जेठ र असारमा ४० प्रतिशत वितरण गरेको थियो।      

कम्पनीको यो निर्णयले मनकामना केबलकारका १५० जना कर्मचारीलाई राहत मिल्नेछ ।

अहिलेको अवस्थामा व्यवसाय ठप्प छ। सबै कर्मचारी परिचालन भएका पनि छैनन्। यसका बाबजुद  वर्षौंदेखि काम गर्दै आएका कर्मचारीको दैनिक जीविका सहज होस् भन्नका लागि मानवीय नाताले पनि ती चारै महिनाको बाँकी तलब मिलान गरेर शतप्रतिशत भुक्तान गर्ने निर्णय गरेको  संचालक श्रेष्ठले बताए।

कर्मचारी र कम्पनीको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा जम्मा गरिँदै आएको ३१ प्रतिशत रकम सरकारले नै दिने निर्णय गरेपछि कम्पनीले कर्मचारीलाई लकडाउन अवधिको पनि सम्पूर्ण तलब दिने निर्णय लिएको श्रेष्ठले बताए। 

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत तलब वितरण गरिने सम्झौता भएको थियो। मनकामना केबलकारले भने शतप्रतिशत तलब सुविधा आर्थिक वर्ष २०७६/७७ को हिसाबमा लेखाङ्कन गरिसकेको जनाएको छ।    

यातायात पूर्णरुपमा संचालनमा नआएको अवस्थामा चार महिनादेखि बन्द भएको मनकामना केबलकार तत्काल पुनः संचालनमा आउने अवस्था भने नरहेको श्रेष्ठले बताए।  

व्यवसाय संचालनमा ल्याउन कम्पनीले गत जेठमा आफ्नै एसओपी (स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर) तयार गरिसकेको छ। यसमा केबलकार प्रयोगदेखि त्यहाँबाट बाहिरिँदासम्मका लागि स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरिसकेको कम्पनीले जनाएको छ।

कम्पनीले अब केबलकार पुन संचालनमा ल्याउँदा सुरुवाती दिनमा क्षमताको ५० प्रतिशतमा यात्रुलाई सेवा दिने योजना बनाएको छ।  स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार केबलकारको आउने–जाने दुवै क्षेत्रमा यात्रुलाई आवश्यक परेको अवस्थामा आइसोलेसनको पनि व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2020-07-31 13:50:53

प्रतिकृया दिनुहोस्