शिव सेनाका नेता तथा महाराष्ट्र पर्यटन मन्त्री आदित्य ठाकरेले बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या मामिला बारे महत्वपूर्ण प्रतिक्रिया दिएका छन्। सुशान्तको आत्महत्याका विषयमा मुम्बई प्रहरीले गम्भीर अनुसन्धान थाले पनि चारैतिरबाट अनेकन प्रश्नहरु उब्जिएका बेला मन्त्री ठाकरे बोलेका हुन्।
यो घटनालाई लिएर महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेको समेत आलोचना सुरु भएको छ। सरकारको भूमिका र प्रहरीको अनुसन्धानमा थुप्रै टिप्पणीहरु आइरहेका महाराष्ट्र सरकारका मन्त्री आदित्यले मुम्बई प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, ‘महाराष्ट्र पुलिसको विश्वव्यापी प्रतिष्ठा छ। अनुसन्धानमा कुनैपनि कमजोरी हुँदैन। तर, कानूनमा विश्वास नगर्ने केहीँ व्यक्तिहरु यस केसको आधारहीन आरोप लगाएर अनुसन्धानलाई रोक्न खोजिरहेका छन्।’
सुशान्त प्रकरणमा अनावश्यक अफवाह फैलाउनेलाई चेतावनी दिँदै मन्त्री ठाकरेले भने, ‘हिन्दू हृदय सम्राट बालासाहेब ठाकरेका नातिका रूपमा म यो भन्न चाहन्छु कि, महाराष्ट्र, शिवसेना र ठाकरे परिवारको छविलाई बिगार्ने कुनै पनि काम यो सरकारले गर्ने छैन।’
सुशान्त आत्महत्याका बारेमा अरु कसैलाई विशेष जानकारी भए, त्यो सूचना मुम्बई प्रहरीलाई दिनुपर्ने उनले तर्क गरे। प्रहरीले त्यस प्रकारको जानकारीलाई पनि छानबिन गर्ने मन्त्री ठाकरेले बताए। सुशान्तको गृहराज्य बिहारबाट समेत अनुसन्धानका लागि प्रहरीको एक समूह मुम्बई आइपुगेको छ। बलिउडमा नातावाद र क्रिपावाद हाबी हुँदा सुशान्तले आत्महत्या गरेको र यस बारे गम्भीर रुपमा अनुसन्धान गर्नुपर्ने परिवारको दाबी छ।
अभिनेता सुशांतको आत्महत्या नभई हत्या भएको भाजपाका नेता नारायण राणेले बताएका छन्। उनले सुशान्त मुद्दामा राज्य सरकारले दोषीलाई बचाउँने प्रयास गरिरहेको समेत आरोप लगाए। यसै प्रकरणमा भाजपा नेता तथा पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसकी श्रीमती अमृता फडणवीसले सुशान्तको अनुसन्धानमा मुम्बईले आफ्नो मानवता गुमाएको आरोप लगाएकी छिन्। "निर्दोष र स्वाभिमानी नागरिकका लागि अहिले मुम्बईमा बस्नु सुरक्षित छैन"- अमृताले ट्वीट लेखेकी छिन्। यता, अमृताको भनाईमा मन्त्री ठाकरेले भाजपाको फोहोरी राजनीतिक खेल भएको प्रतिक्रिया दिए।