मिडफिल्डर कौटिन्हो बार्सिलोना फर्किए

ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो स्पेनिस क्लब बार्सिलोना फर्किएका छन्। वायर्नले काैटिन्हो बार्सिलोना फर्किएको पुष्टि गरेको छ। 

जर्मन क्लब वायर्न म्युनिखमा एक सिजन लोनमा बिताएर कौटिन्हो स्पेनिस क्लब फर्किएका हुन्। वायर्नले सामाजिक संजालबाट काैटिन्होलाई धन्यवाद समेत दिएका छन्।

पछिल्लो समय वायर्नका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका कौटिन्होले वायर्नलाई च्याम्पियन लिगको उपाधि नजिक पुर्‍याउन सेमिफाइनलमा महत्त्वपूर्ण योगदान गरेका थिए।

उनले सेमिफाइनलमा बार्सिलोनाविरुद्ध दुई गोल गरेका थिए। जुन खेलमा बार्सिलोनाले ८-२ गोलको लजास्पद हार व्यहोर्नुपरेको थियो। 

२८ वर्षीय काैटिन्होले वायर्नमा एक सिजन रहदा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेका थिए।

सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका काैटिन्होलाई उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै दोस्रो सिजननै बार्सिलोनाले लोनमा पठाएको थियो।

जर्मन क्लबका लागि काैटिन्होले बुन्डेसलिगामा २३ खेल खेल्दै ८ गोल गरेका थिए। यस्तै च्याम्पियन्स लिगमा ३ गोल गरेका थिए। काैटिन्होले समेत आफ्ना समर्थकलाई धन्यवाद दिएका छन्।

बार्सिलोनासँग काैटिन्होको सम्झौता अझै ३ वर्ष बाँकी रहेको छ।

तर, पछिल्लो समय काैटिन्हो इंग्लिस आर्सनल जाने चर्चा चलिरहेको छ।

प्रकाशित मिति: : 2020-09-03 06:42:13

प्रतिकृया दिनुहोस्