मुम्बईमा अर्को एक अभिनेताको शंकास्पद मृत्यु

अभिनेता सुशान्त सिंह राजपूतको निधनको कारण खुल्न नपाउँदै बिहारका अर्का अभिनेता अक्षत उत्कर्षको मृत शरीर शंकास्पद अवस्थामा भेटिएको छ। 

परिवारले उनको निधनलाई आत्महत्या दावी गरिरहेको छ। परिवारले मुम्बई प्रहरीमाथि आरोप लगाउँदै सहयोग नगरेको बताएका छन्। 

परिवारले अक्षतको निधनको प्रारम्भिक जाँचको रिपोर्ट मुम्बई प्रहरीले आफूहरूलाई उपलब्ध नगराएको पनि आरोप लगाएका छन्। अक्षत मूलत मुजफ्फरपुरको सिकन्दरपुरका स्थायी वासिन्दा हुन्। 

मंगलबार परिवारले अन्तिम संस्कारका लागि अक्षतको शरीर पटना विमानस्थल पुर्‍याएका थिए। उनको सद्गद् मुजफ्फरपुरमा गर्ने परिवारले बताएको छ। 

अक्षतका मामा रन्जु सिंहले आइतबार राती १०–११ बजेतिर निधनको खबर पाएको बताए। उनले मुम्बईमा सँगै बसोबास गर्ने महिला साथी स्नेहा चौहानमार्फत यसको जानकारी पाएको बताए। स्नेहाको घर उत्तर प्रदेशको नोयडमा पर्छ। स्नेहाले फोन गरेर अक्षतले फाँसी लगाएको बताएकी थिइन्। 

घटनाको जानकारी पाएपछि सोमबार बिहान परिवारका सदस्य मुम्बई पुगेका थिए। अक्षतको परिवारले सुरुमा उनलाई कोकिलाबेन अस्पताल लगिएको तर अस्पतालले कुपर अस्पतालमा रिफर गरेको बताएका छन्। 

उनको निधन रुमालले फाँसी लगाएर भएको दावी गरिएको छ। परिवारको आरोप छ, ६ फिट अग्ला अक्षतले रुमालमा झन्डिएर कसरी आत्महत्या गर्छन?

अक्षत दुई वर्षदेखि मुम्बईको अन्धेरी वेस्टमा बसोबास गरिरहेका थिए। उनले एमबीए गरेका थिए। उनी अभिनय गर्नुका साथै प्राइभेट कम्पनीमा पनि काम गर्थे। उनले रिलिज हुन बाँकी रहेको ‘लिट्टी चोखा’ मा अभिनय गरेका थिए।

सुशान्त जस्तै मुम्बई प्रहरीले अक्षतको मुद्धालाई पनि आत्महत्या भनेको छ। प्रहरीको रिपोर्टमा उनी काम नपाउँदा डिप्रेसनमा रहेको उल्लेख छ। उनको प्रेमिकाले आइतबार राती अक्षत अरु दिनको तुलनामा अनौठौं कृयाकलाप गरिरहेको बताएकी छिन्। 

उनले सुत्न जानुपूर्व दुबैले एक घण्टा कुरा गरेको र डिनर पनि सँगै खाएको बताएकी छिन्। तर, राती साढे ११ बजे हेर्दा उनी फाँसीमा झुन्डिरहेको देखेपछि प्रहरीलाई तुरुन्त फोन गरेको बताएकी छिन्। 

परिवारले घटनाको जानकारी पाएपछि स्नेहालाई लगातार फोन गरेको तर कुनै प्रतिक्रिया नदिएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-09-30 09:11:22

प्रतिकृया दिनुहोस्