क्यामेरासहितका नगरप्रहरीद्वारा ललितपुरमा नियमित साइकल गस्ती

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकामा बुधबारदेखि नगर प्रहरीले साइकल गस्ती शुरु गरेको छ। 

महानगरकी उपप्रमुख गीता सत्यालले सुरू गरेको  गस्तीले ललितपुरका हरेक गल्ली र बाटोमा जनताको सेवाका लागि नगर प्रहरी पुग्न सकुन् भनेर महानगरले साइकल गस्ती शुरुवात गरेको हो।

ललितपुरको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले साइकल गस्तीको मद्दतले नगरबासीमा तुरुन्त सहयोग गर्न मद्दत पुर्‍याउने आशा व्यक्त गरेका छन्।

हाल महानगरले नगर प्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ। उनीहरुले बिहान १० बजेदेखि ५ बजेसम्म गस्ती गर्नेछन्।

हाछेथुका अनुसार साइकल गस्ती गर्ने नगर प्रहरीहरुलाई क्यामरा पनि दिइएको छ। क्यामराको मद्दतले उनीहरुलाई समस्या र बेथिति भएका स्थानहरुको फोटो खिचेर रिपोर्टिङ गर्न पनि सहज हुने उनले बताए।

ललितपुर महानगरपालिकाले ‘साइकल लेन’ समेत सञ्चालनमा ल्याएका कारण पनि नगरप्रहरीले साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले गस्तीका लागि साइकल प्रयोग गर्न थालेको हो। ‘साइकल भनेको वातावरणमैत्रीमात्र नभएर शारीरिक स्फूर्तिका लागि पनि आवश्यक हुन्छ,’ हाछेथु भन्छन्, ‘महानगरपालिकाले साइकल लेन नै छुट्याएको अवस्थामा नगर प्रहरीले गस्तीका लागि अन्य सवारीसाधनको तुलनामा साइकललाई नै महत्व दिएको हो।’

नगर क्षेत्रका गल्ली गल्लीमा पुग्न सहज हुने भएकाले साइकल गस्ती प्रभावकारी हुने उनको भनाइ छ।

यसअघि ललितपुर महानगरपालिकामा पछिल्लो समय फुटपाथ खाली गराउने अभियान सञ्चालन भएको थियो। कोरोना महामारीका कारण कतिपयले सार्वजनिक सवारी साधन प्रयोग गर्न असहज महसुस गर्दै दुई/चार किलोमिटरको दुरीसम्म पैदल यात्रालाई नै प्राथमिकता दिन थालेपछि महानगरपालिकाले फुटपाथलाई खाली गराउन थालेको हो।

ललितपुर महानगर अन्तर्गतको नगर प्रहरीले पैदलयात्रुलाई हिँड्न सजिलो होस् र यात्राका क्रममा समेत भौतिक दूरी कायम राख्न सहज होस् भनेर फुटपाथलाई खाली गराउने अभियान सञ्चालन गरेको छ। खासगरी अवकाशप्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथुले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नगर क्षेत्रभित्र पैदलयात्रीलाई सहज होस् भन्ने उद्देश्यले फुटपाथ ‘क्लियर’ गराउने अभियान अघि सारेका हुन्। 

हाछेथुले ललितपुर महानगरभित्र फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारिक सामान हटाउन लगाउने, नियमविपरीतका होर्डिङ बोर्ड हटाउनेजस्ता काम सुरु गरेका छन्।

जिम्मेवारी सम्हालेको छोटो समयमै उनले कुपण्डोलदेखि कुमारीपाटीसम्मको फुटपाथलाई क्लियर बनाएका छन्। उक्त सडकखण्डको फुटपाथ हाल अतिक्रमण मुक्त भएको छ।

प्रकाशित मिति: : 2020-10-02 14:24:06

प्रतिकृया दिनुहोस्