सुशान्तका नेपाली सहयोगी अंकित दिल्लीमा पक्राउ

अभिनेता सुशान्त सिंह राजपूतको निधनको छानवीनमा भइरहेको ढिलाईलाई लिएर भोक हडतालमा बस्न लागेका नेपाली सहयोगी अंकित आचार्य पक्राउ परेका छन्। 

उनलाई दिल्ली प्रहरीले बिहीबार पक्राउ गरेको हो। अंकित राष्ट्रपिता महात्मा गान्धीको जन्म–जयन्तीको अवसरमा राजघाटस्थित समाधिस्थल पुगेर भोक हडतालमा बस्ने तयारीमा थिए। 

उनीसँगै कोरियोग्राफर गणेश श्रीभारकर पनि मुम्बईबाट दिल्ली पुगेका थिए। तर, अंकितलाई भोक हडताल सुरु गर्नुअघि नै पक्राउ गरेको गणेशले जानकारी दिएका छन्। 

नेपालबाट धेरै वर्ष पहिले मुम्बई पुगेका अंकित दुई वर्ष सुशान्तको सहयोगीको रूपमा कार्यरत थिए। उनलाई गत वर्षको अन्त्यमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले कामबाट निकालेकी थिइन्। 

सुशान्तको निधनको मुद्धालाई प्रखर रूपमा उठाउँदै आएका अंकितले पहिलेदेखि नै हत्या भएको बताउँदै आइरहेका छन्। उनले बिएल नेपाली सेवाका लागि दिएको अन्तर्वार्तामा पनि सुशान्तको हत्या भएको बताएका थिए।

प्रकाशित मिति: : 2020-10-02 14:54:03

प्रतिकृया दिनुहोस्