यौन शोषणको मुद्धामा अनुरागसँग ८ घण्टा सोधपुछ

बलिउडका फिल्म निर्देशक अनुराग कश्यपलाई यौन शोषणको मुद्धामा मुम्बई प्रहरीले बिहीबार ८ घण्टा सोधपुछ गरेको छ। 

मुम्बईको वर्सोवा चौकीमा बिहान १० देखि साँझ ६ बजेसम्म भएको सोधपुछमा उनले आफूमाथि लागेको आरोप निराधार भएको बयान दिएका छन्। 

दक्षिण भारतकी अभिनेत्री पायल घोषले फिल्ममा काम दिने बहानामा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

मुम्बई प्रहरीलाई २२ सेप्टेम्बरमा दिएको उजुरी कार्यान्वयन नभएपछि उनी महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीलाई भेटेकी थिइन्। यसपछि मुम्बई प्रहरी परिचालित भएको थियो। 

बयानका क्रममा अनुरागले आफूमाथि सड्यन्त्र भएको आरोप लगाएका थिए। तर, उनले उनीविरूद्ध कसले सड्यन्त्र गरिरहेको छ, त्यो बताउन नसकेको भारतीय मिडियाले बताएका छन्। 

पायलले सन् २०१३ मा वर्सोवास्थित करी रोडको एउटा ठाउँमा आफूलाई बलात्कार गरेको उजुरी दर्ता गरेकी थिइन्। 

पायलले ट्वीट गर्दै अनुरागलाई बयानका लागि बोलाउने मुम्बई प्रहरीको निर्णयको स्वागत गरेकी छिन्। उनले छिट्टै आफूले न्याय पाउने आशा राखेको बताइन्।

प्रकाशित मिति: : 2020-10-02 14:59:30

प्रतिकृया दिनुहोस्