पाँच वर्षअघि चोरिएका चन्दननाथका दुई मूर्ति फेला, शंकास्पद तीन जना पक्राउ

जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच वर्षपहिले चोरी भएका मध्ये थप दुई मुर्ति भेटिएका छन्। 

२०७३ साल मंसिर ११ गते राति मन्दिरबाट चोरी भएका मध्य सोमबार विष्णु, भगवती र सरस्वतीको मुर्ति भेटाएको हो। भेटिएका दुबै मूर्ति पुरातात्त्विक महत्त्वका रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान १०ः १५ बजे चन्दननाथ १० बोहोरा गाउँस्थित सुशिल विष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोशल्लामा बेरिएको अवस्थामा भेटिएको डीएसपी माधव काफ्लले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रहरीले मुर्तिसँगै तीनजना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्दननाथ १० का ३२ वर्षीया सुशिल विष्ट, तातोपानी ८ घर भई हाल चन्दननाथ १० बस्ने २८ वर्षीया जयलाल थापा र चन्दननाथ १० कै २३ वर्षीया सुदिप रावल रहेका छन्।

पाँच वर्ष पहिले चन्दननाथ मन्दिरबाट २१ मूर्ति चोरी भएको भनिएपनि संख्या एकिन हुन सकेको छैन। तथापि हालसम्म विभिन्न ठाउँमा गरी करिब २० वटा मुर्ति भेटिएको प्रहरीको भनाइ छ।

चोरी भएका मुर्तिमध्ये तामा र पित्तलले बनेका भगवतीका दुईवटा, विष्णु, गणेश, बाल गोपालका मुर्ति, एउटा मुकुट, बुद्धको ठूलो र सानो मुर्ति, बुद्धले ध्यान गरेको मुर्ति, कृष्ण बालगोपालले मुरली समातेको मुर्ति, पत्थरबाट बनेको हनुमानको मुर्तिसँगै दायाँ र बायाँ शंख र रुद्राक्ष २०७३ पुषमा गुठीचौर गाउँपालिकाको देपाल गाउँस्थित ढुङ्ग्री खोलामा मुर्ति फेला परेका थिए। 

त्यस्तै दत्तात्रयको १८ किलोको चाँदीको मुख्य मूर्ति २०७६ माघमा चन्दननाथ १ दानसाँघुमा रहेको खेतको आलीमा बेवारिसे अवस्थामा भेटिएको थियो।

चोरी भएका मूर्ति क्रमशः भेटिदै जान थालेपछि स्थानीयबसी खुसी भएका छन्। संस्कृति सम्बन्धिका जानकार तथा चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिका सदस्य रमानन्द आचार्यले सबै मूर्ति भेटिने र चोरीमा संलग्न भएका सबै कानुनी दायारामा आउने विश्वास व्यक्त गरे।

‘हामीलाई आशा थियो मूर्ति कुनैपनि हालतमा भेटिनेछन्,’ उनले खुसी हुँदै बिएल नेपाली सेवासँग भने, ‘मूर्ति निकासी गर्न सजिलो थिएन भने चन्दननाथ बाबाप्रति नागरिकको भरोसामा पनि कमी भएको छैन।’

चन्दननाथका पुरातात्त्विक महत्त्वका बहुमुल्य ऐतिहासिक मुर्ति चोरीमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। 

‘शंकास्पद व्यक्ति र मुर्ति भेटाउनु प्रहरीको ठूलो उपलब्धी हो। यदी घटानामा संलग्न भए जो कोहीलाई कानुनि दायारमा ल्याइने छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-10-06 06:26:05

प्रतिकृया दिनुहोस्