मुदी सडक सञ्जालमा जोडियो

सांकेतिक तस्बिर

म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ। गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहँुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो। 

सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ  मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताए। 'मुदीबाट मुना पुग्न अप्ठ््यारो भीर र खोल्साको बाटो डेढ घण्टा पैदल हिँड्नुपथ्र्यो' उनले भने, 'गाडी चढेर बीस मिनेटमै पुगिन्छ । बिरामीलाई गाडीबाटै समयमै अस्पताल पु¥याउन सजिलो भएको छ।' 

गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जीप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन्। यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो। मुदी म्याग्दीको जडीबुटीको भण्डार मानिन्छ। कृषकले पालेका खसीबोका बजार पठाउन सजिलो भएको छ। 

वडाध्यक्ष बेगप्रसाद घर्तीले मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका बताए। विसं २०७३ मा शुरु भएको फलियागाउँदेखि मुदी सम्मको सडकको दुरी करिब ६ किलोमिटर छ। बस चलाउन मिल्ने गरी छ मिटर फराकिलो बनाइएको छ। 

अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिविसले रु ४२ लाख र राष्ट्रिय योजना आयोगले रु ४० लाख खर्चेर दरसम्म ट्याक खोलेका थिए। 

विसं २०७४ मा गाउँपालिकाले विनियोजन गरेको रु ९० लाखबाट सिमवाङको फाँटसम्म सडक पु¥याइएको थियो। २०७५ मा गाउँपालिकाको रु ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रु २३ लाख खर्च भएको थियो। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले आर्थिक वर्ष २०७६/७७ मा रु ४५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले एक कलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो। बाहै्र महिना यातायात सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल निर्माण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजन भएको बताए। 

सात वडा रहेको धौवलागिरिको वडा न ५ मल्कवाङमा पूर्वाधार विकास कार्यालयले यसैवर्ष सडक पु¥याएको छ। वडा न २ मा पर्ने खोरियाको भूगोलमा सडक खनेपनि महतलाको भीरमा ट्याक खन्न बाँकी भएकाले यातायात सञ्चालन हुन सकेको छैन। खोरिया र लमसुङ तथा लुलाङका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विषयमा विवाद हुँदा गत वर्ष रु एक करोड ५० लाखमा ठेक्का लागेको योजनाको काम भएन। 

गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले मराङ, ताकम र मुनामा यसअघि नै सडक पुगेको थियो। वडा नं १ गुर्जामा गत वर्ष रु ४५ लाख विनियोजन गरेर शुरु गरेको आन्तरिक सडक निर्माण योजनालाई यसवर्ष रु २० लाख विनियोजन गरेर निरन्तरता दिएको
बताए। रासस 

प्रकाशित मिति: : 2020-10-28 13:34:00

प्रतिकृया दिनुहोस्