मोरङमा ठूलो मात्रामा विष्फोटक पदार्थसहित ‘विप्लव’ समूहका कम्पनी कमिश्नर पक्राउ (भिडियो)

जिल्ला प्रहरी कार्यालय मोरङले ठूलो मात्रामा विष्फोटक पदार्थसहित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कम्पनी कमिश्नरलाई पक्राउ गरेको छ।

विप्लवका पूर्वी कमाण्डका कम्पनी चुलाचुली गाँउपालिका ६ का कमिश्नर १८ वर्षीय विज्ञान राई समन, र सप्तरीको सुरुंगा नगरपालिका २ का 
काशीनाथ घिमिरे प्रतिकलाई बुधबार पक्राउ गरेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

पक्राउ परेका घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी ब्यूरो चौथो कम्पनी कमिश्नर र राई पार्टी सदस्य हुन्।

घिमिरे सप्तरी जिल्लाको पूर्व सेक्रेटरी समेत रहिसकेको प्रहरीको दावी छ।

विशेष सुराकीका आधारमा स्थानीयसंग चन्दा रकम असुल गर्दै गर्दा मिक्लाजुंग गाँउपालिकाबाट १ घुर्मिसेस्थित विजुलीप्रसाद तिम्सिनाको घरबाट पक्राउ गरिएको हो।
 
दुवैजनाको साथबाट हातहतियार खरखजाना, विष्फोटक पदार्थ, चन्द समूहको दस्तावेजका सामग्री समेत फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरुको साथबाट १ थान नालसहित भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १ बट्टा फलामको टुक्रा, विष्फोटक पदार्थ जिलेटिन ३ किलोग्राम, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाईटर ६ थान, १२ भोल्टको ब्याट्री १ थान र गन पाउडर र बारुद ४ बट्टा बरामद गरेको छ।

१५ हजार रुपैयाँसहित प्रहरीले सेफ्टी फ्युज तार ३८ मिटर, बिजुलीको तार ९० मिटर, १० थान मोबाइल, खुकुरी ४ थान, दाउ १ थान, नेपाल टेलिकमको ७ वटा र एनसेलको २ वटा सिमकार्ड फेला पारेको छ।
 

प्रकाशित मिति: : 2020-10-29 10:22:00

प्रतिकृया दिनुहोस्