देशभर १ सय ३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।
अन्तरराष्ट्रिय श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन मनाउने गरिन्छ।
विश्वभरका श्रमिक वर्गहरुले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस मनाउँदै आएका छन्।
000
प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट ब्राण्डिङ गर्नुपर्ने बताएका छन्।
कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै उनले सरगमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताएका हुन्।
सगरमाथाको अर्को नाम ‘माउन्ट एभरेष्ट’ नक्कली भएको उनकाे दाबी थियाे।
000
सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ।
सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरेका थिए।
त्यसअघि कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो।
स्थायी शिक्षकहरूको मात्रै सेवा सुविधा सुनिश्चित गरेर कर्मचारीहरूलाई वेवास्ता गरेको उनीहरूकाे आरोप छ।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुची नभएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
देशमा एउटा ठुलो आन्दोलन आवश्यक रहेको बताउँदै आफूहरूको सरकारमा जाने मनस्थिती नभएको उनको भनाइ थियो।
000
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै उनले विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरूको प्रशंसा गरेका थिए।
000
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन्।
000
भारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मन नेपालमा अवैध रूपमा चिकित्सा अभ्यास गरिरहेको पुष्टि भएको छ।
नेपाल मेडिकल काउन्सिलको छानबिनमा लाइसेन्स नवीकरण नगरेका बर्मनले चितवन मेडिकल कलेजमा नियमित रूपमा उपचार सेवा दिइरहेको पाइएको हो।
विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने नेपाल मेडिकल काउन्सिलको समितिले बर्मनमाथि अनुशासनात्मक कारबाहीको निर्णय गरेको छ।
000
राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख २१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षा तोकिएकै समयमा मर्यादित, व्यवस्थित र शान्तिपूर्णरुपमा सञ्चालनका लागि सहयोग गर्न सबैलाई अपिल गरेको छ।
बिहीबार बोर्डले एक विज्ञप्ति जारी गर्दै यस्ताे अपिल गरेकाे हाे।
यसअघि वैशाख ११ गतेदेखि गर्ने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण प्रभावित भएको थियो।
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच बुधबार ९ बुँदे सहमति भएकाले अबको परीक्षा भने तोकिएकै समयमा हुनेछ।