रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण तीव्र गतिमा (भिडियो रिपोर्ट)

शनि शाक्य

ललितपुर

ललितपुरको बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण तीव्र पारिएकाे छ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त उक्त मन्दिर गत असार २० गते क्षमा पूजा गरी पुनर्निमाण सुरु गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा भइरहेको कार्यको रेखदेख पुरातत्व विभागले गरिरहेको छ।

उपभोक्ता समिति र पुरातत्व विभागबीच भएको सम्झौताअनुसार समितिले एकवर्ष (२०७८ असार १५ गते) भित्र ३ करोड ८ लाख रुपैयाँमा मन्दिरको पुनर्निर्माण गर्नेछ।

सम्झौंतापछि उपभोक्ता समितिले ४० लाख रुपैयाँ पेश्की निकासा गरिसकेको छ। यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत् रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो।

पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का रद्द गरी उपभोक्ता समितिमार्फत् गर्न लागिएको रातो मच्छिन्द्रनाथका पुजारी मोतीरत्न बज्राचार्यले जानकारी दिए।

मन्दिर पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपलिका एवं सम्बन्धित वडाका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, बुङ्गमती क्षेत्र पुनर्निर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समितिसमेत गठन गरिएको छ।

प्रकाशित मिति: : 2020-11-01 17:27:00

प्रतिकृया दिनुहोस्