ट्रम्प र वाइडेनमध्ये कसले जिते नेपालीलाई फाइदा?

अमेरिकामा आज अर्थात् नोभेम्बर ३ तारिखको दिन सम्पन्न ४६ औं राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ आर वाइडेन वा बर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे ट्र्म्प मध्य जसको जित भए पनि नेपालीमूलका अमेरिकी लगायत सबै आप्रवासीलाई खासै अन्तर पर्दैन।

तर्कभन्दा मन गढ्न्त सिद्वान्तमा बढी विश्वास गर्ने कारण नेपाली समुदाय बिना आधारको त्रास वा खुशी लिएर अधैर्यपूर्वक चुनावी परिणामको प्रतिक्षा गरिरहेको छ।

अधिकांश नेपालीमूलका व्यक्तिलाई डेमोक्रयाटिक पार्टीका उम्मेदवार वाइडेनको जित भएमा आफूलाई अमेरिकामा बस्न सहज हुने र वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्र्म्पले जितेमा आफू यो देश छोडेर जानुपर्ने आधारहीन त्रास रहेको पाइन्छ। जसमा कुनै सत्यता छैन। गैरकानुनी रुपमा रहेका वा यता बस्ने पर्याप्त दस्तावेज (चलनचल्तीको भाषामा कागज) नभएकाको मात्र होइन, अमेरिकी सरकारले प्रदान गरेको दस्तावेज अर्थात ग्रीन कार्ड,  अमेरिकी नागरिकता वा वर्क परमिट जस्ता कागजपत्र भएका पनि बिनाकारण डराउने गरेको पाइएको छ। जसको कुनै निश्चित आधार छैन। 

यस्तो बिना आधारको डर भनेको नदुखेको टाउको डोरी लगाएर दुखाउनु मात्र हो। जसको कुनै औषधि छैन। यसको साथै यस्ता बिना आधारका र अनर्गल हल्ला फैलाउनमा आफूलाई कानुन व्यवसायी भनेर परिचय दिने मानव तस्करका एजेन्टहरुको मुख्य भूमिका छ। जसको काम नै धमिलो पानीमा माछा मार्नु हो र पर्याप्त जानकारीको अभावमा ठगिने सोझा साझा मान्छेलाई अझै ठग्ने हो।  अत: कागले कान लग्यो भन्दैमा त्यतै दौड्ने होइन, कि कान छाम्नु पर्छ अर्थात उचित जानकारी लिनु पर्दछ।

यस्तै डेमोक्रयाटिक पार्टीका उम्मेदवार वाइडेनको विजय भएमा पाखुरामा च्याप्प समातेर काखमा राख्ने अर्थात् सजिलै बस्न दिने र वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्र्म्पले जित्यो भने भोलि नै कठालो समातेर घोक्राउने अर्थात देश निकाला गर्ने कुरामा कुनै सत्यता र ठोस आधार छैन। आजसम्मको इतिहासलाई हेर्ने हो भने आप्रवासीलाई  देश निकाला गर्ने मामिलामा डेमोक्र्याटिक पार्टीबाट विजयी भएका राष्ट्रपति बढी छन्। सबैभन्दा उदार राष्ट्रपतिको छवी बनाएका पूर्व राष्ट्रपति बराक ओबामाको दुइ पटकको कार्यकालमा सबैभन्दा बढी आप्रवासीलाई देश निकाला गरिएको छ। यसैलाई आधार मान्ने हो भने पनि रिपब्लिकन पार्टीका उम्मेदवारको जित भयो भन्दैमा आप्रवासीले देश छोड्नु पर्ने कुरा विश्वास गर्न सकिन्न।

यदी कुनै कारणवस संसदबाटै कानुन बनाएर आप्रवासीलाई देश निकाला गर्ने कानुन आयो भने देश छोड्न सबैले तयार हुनुपर्छ। खल्तीमा अमेरिकाको अंगिकृत नागरिकता बोक्ने तर बाहिर ‘एक पटकको नेपाली सँधैको नेपाली’ भनेर कराउने पाखण्डी व्यवहार गर्नु उचित होइन।

आप्रवासी मामिलामा सरकारी नीतिको सम्बन्धमा यहाँ एउटा कथन छ– सबैले एकै प्रकारको बर्गरमा एउटै स्वादको केचप हालेर खान्छन् अर्थात जुन पार्टीको राष्ट्रपति भए पनि आप्रवासी सम्बन्धि सरकारी नीतिमा कुनै ठोस परिवर्तन हुदैन। अत: हामी नेपालीमूलका व्यक्तिले यसले जित्यो भने बस्न पाइन्छ र उसले जित्यो भने देश फर्किनु पर्छ भनेर अनावश्यक तनाव लिनुको कुनै अर्थ छैन। बिधिद्वारा निर्देशित शाषन, प्रचलित कानुनप्रतिको सम्मान र संबिधानमा आस्था भएको देशमा कुनै एउटा व्यक्तिको लहडले कुनै परिवर्तन हुदैन। कानुनले निषेध गरेको कुरा नगर्ने र प्रचलित नियमलाई सम्मान गर्यो भने कसैले पनि केहि गर्न सक्दैन, चाहे त्यो वाइडेन होस् वा ट्र्म्प, वा अर्को कुनै राम श्याम र हरि नै किन नहुन्। 

मतदान गर्ने हैसियत र अधिकार नभएको कारण कसैलाई जिताउने र हराउने एपिसोडमा पंक्तिकारको कुनै योगदान छैन। साथै यो चुनावमा जसले जित्यो वा हार्यो, मेरो लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ हो। अत: नितान्त नीजि विचार र लेखाइलाई लिएर फलानो त् यसको समर्थक वा उसको बिरोधी हो भन्ने अर्थ नलागोस्। किनकी पंक्तिकार त्यत्रो ठूलो न त् बौद्धिक व्यक्तित्व हो, न त राजनैतिक विश्लेषक नै। धन्यवाद।

प्रकाशित मिति: : 2020-11-04 09:02:00

प्रतिकृया दिनुहोस्