आफूलाई विवादास्पद र क्रुर नेताको रूपमा स्थापित गर्दैछन् ट्रम्प

 सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा बिजयी भएपछि आफ्नो चार बर्षे कार्यकालमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न बहुलठ्ठी निर्णय र विवादास्पद क्रियाकलाप गरेर कू–चर्चा मात्र कमाए। अहिले सन् २०२० को निर्वाचनमा डेमोक्रयाट उम्मेदवार जो वाइडेनसँग पराजय भोगे पनि पराजय स्वीकार गर्नुको साटो अर्थहीन बयानबाजी गरेर बिश्व समुदायको ध्यान आफूतर्फ तान्ने असफल प्रयास गर्दैछन्। 

आफैले गरेको बकम्फुसे क्रियाकलापले उनलाई फाइदा त टाढाको कुरा, झन् बढी मूर्ख प्रमाणित गरिरहेको छ। चार बर्षे कार्यकालको सुरुदेखि नै यिनले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई बुलन्द गरेका थिए। सुन्दा कर्णप्रिय लाग्ने तर कालान्तरमा विभाजन ल्याउने र ‘ह्वाइट सुप्रिमेसी’ जस्तो तुरुन्तै जातीय हिँसा फैलाउनसक्ने आपत्तिजनक नारा दिएर उनले आफ्नै राजनीतिक कद घटाए।  

निर्वाचनमा जितेर ह्वाइट हाउस पस्दा यिनको जुन उचाई थियो, अहिले फर्किदा बाम पुड्के भएर फर्किने पक्का छ। आप्रवासीप्रति नकारात्मक टिप्पणी, कालो रङ्गप्रति असमान व्यवहार जस्ता क्रियाकलापले धेरै रिपब्लिकन पार्टीका ‘हार्ड कोर’ समर्थक र मतदाता पनि यिनको विरोधमा उत्रिएका थिए। आप्रवासीप्रति सुरुदेखि नै यिनको बक्रदृष्टि थियो, जस कारण यिनले आफ्नो कार्यकालको प्रारम्भदेखि आप्रवासीलाई अफ्ठ्यारोमा पार्ने कानुन ल्याउने प्रयास गरे। तर यिनको धेरै जसो कू–प्रयासलाई अदालतले निस्तेज पारिदियो। 

त्यस्तै अमेरिकी समाजमा सेतो रङ्गका ब्यक्तिमात्र सर्वोच्च हुन्छन् भन्ने उनको सोचका कारण काला जाति तथा एसियालीमूलका मानिसले आफू दोश्रो दर्जाको नागरिक भएको अनुभव गरेँ। फलस्वरूप समाजमा नदेखिने विभाजन ल्यायो। ट्र्म्पको यस्तो हर्कत विस्तार हुँदै जाने हो भने अल्पसंख्यकलाई ठूलो घाटा पर्ने देखिन्छ, जो आजको जस्तो सम्भ र आधुनिक युगमा उचित ठहर गर्न सकिन्न। यो अमेरिकाका लागि लज्जाको विषय पनि हो। 

राष्ट्रपति निर्वाचन समाप्त भएर परिणाम घोषणा हुँदा पनि उनी कहिले निर्वाचनमा धाँधली भयो,  आफू पराजित नभएको तर प्रतिस्पर्धीले विजय प्राप्त गरेको र आफू कुनै हालतमा पराजित नहुने जस्ता हलुका बयानबाजी गरिरहेका छन्। उनी सत्ता नछोड्न अनेक प्रपञ्च रचिरहेका छन्। तर उनको प्रयास सफल हुने देखिदैन। यो उनको असफल प्रयास मात्र हो। 

यतिबेला रिपब्लिकन पार्टीका तलबी समर्थक (नेपालको सन्दर्भमा भाडाका टट्टु) प्रदर्शन र जुलुस गरेर निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्। यस हत्कण्डामा उनीहरु सफल हुने कुरालाई विश्वास गर्न सकिन्न। फिलाडेल्फियामा मतगणना नजिकबाट हेर्न नदिइएको भन्दै ट्र्म्प पक्षले दायर गरेको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले अस्वीकार गर्नुले पनि राष्ट्रपति ट्र्म्प गलत भएको प्रमाणित गरेको छ। 

यसपालिको निर्वाचन अमेरिकी इतिहास कै सबैभन्दा स्वच्छ भएको वक्तब्य जारी गरेका डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च सरकारी अधिकारी क्रिस्टोफर क्रेब्सलाई निष्काशन गर्नुले पनि ट्रम्पको नियत सफा देखिन्न्। आफ्नो विवादास्पद चार बर्षे कार्यकाल समाप्त गरेर ह्वाइट हाउसबाट बाहिरिने पूर्वसन्ध्यामा अझै अमेरिकी समाजमा विभाजन ल्याउने प्रयास राष्ट्रपति ट्र्म्प गरिरहेका छन्। यसले उनलाई झन् बढी विवाद र क्रुर नेताको रुपमा स्थापित गर्ने पक्का छ।

प्रकाशित मिति: : 2020-11-20 07:46:00

प्रतिकृया दिनुहोस्