शिवसेनामा प्रवेश गरेपछि उर्मिला भनिन्–‘मलाई लाग्दैन कि कंगनालाई यति ठूलो स्थान दिन आवश्यक छ’

गत वर्ष कांग्रेसको तर्फबाट निर्वाचन लडेकी बलिउड अभिनेत्री उर्मिला मातोडकर शिवसेना प्रवेश गरेकी छन्। 

निर्वाचनमा  भारतीय जनता पार्टीका गोपाल शेट्टीसँग पराजय भोगेपछि उनले गत वर्ष सेप्टेम्बरमा कांग्रेस छाडेकी थिइन्। उनले पार्टी प्रवेश गरेको पाँच महिनामा सो पार्टी छाडेकी हुन्।

मंगलबार महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना प्रमूख उद्धव ठाकरेको निवासमा उनले पार्टीको सदस्यता लिएकी छन्। 

शिवसेना प्रवेश गर्नुको कारणबारे उनले भनिन्–‘म शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्व र उनको कामबाट प्रभावित छु। पार्टीमा प्रवेश गर्नु अगाडि मलाई उद्धव ठाकरेले फोन गरेका थिए।’

शिवसेनाले उर्मिलालाई राज्यपाल कोटाबाट विधान परिषद्को सदस्य बनाउने प्रयास भइरहेको जनाएका छन्।

पार्टीमा प्रवेश गरेसँगै नायिका कंगना रनावतको बिषयमा बयान दिएकी छिन्। उनले, कंगनालाई अनावश्यक महत्व दिइएको पनि बताएकी छिन्।

बीजेपी र शिवसेनाको विचमा वाकयुद्ध चलिरहेको समयमा कंगनाले मुम्बइलाई पाकिस्तानको प्रशासित कश्मिरसँग तुलना गरेकी थिइन्।

उर्मिलाले भनिन्–‘मलाई यस अगाडि पनि कंगनाको बिषयमा नै धेरै प्रश्न गरिएको छ। मलाई लाग्छ कि कंगनालाई अनावश्यक महत्व दिइएको छ। मलाई लाग्दैन कि उनलाई यति ठूलो स्थान दिन आवश्यक छ।’

प्रकाशित मिति: : 2020-12-02 13:04:00

प्रतिकृया दिनुहोस्